काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा नेतृत्वको टोली आज कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन विराटनगर जाने भएको छ ।
निर्धारित कार्यतालिका अनुसार उनी बिहान ९ः५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्नेछन् भने बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने पार्टीकी सहमहामन्त्री डिला सङ्ग्रौलाले जानकारी दिइन् ।
पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, सङ्घीय तथा प्रदेश सांसद, जिल्ला र क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहनेछ ।
नेपाली कांग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रमलाई तीव्रता दिएको छ । यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशमा यस्ता कार्यक्रम सम्पन्न गरिसकेको पार्टीले आज कोशी प्रदेशमा छलफललाई निरन्तरता दिन लागेको हो ।
समीक्षा कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्म सङ्गठनको अवस्था, चुनावी परिणाम, कमजोरी र सुधारका सम्भावनाबारे प्रत्यक्ष सुझाव संकलन गर्ने अपेक्षा गरिएको छ । साथै आगामी राजनीतिक रणनीति, सङ्गठन विस्तार, क्रियाशील सदस्यता व्यवस्थापन, १५ औँ महाधिवेशनको तयारी तथा कार्यकर्ताको सक्रियता बढाउने विषयमा समेत व्यापक छलफल हुने बताइएको छ ।
कोशी प्रदेशको नेतृत्व व्यवस्थापन तथा संगठन सुदृढीकरणका विषयमा पनि बैठकमा प्राथमिकताका साथ छलफल हुने सहमहामन्त्री सङ्ग्रौलाले जानकारी दिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया