काठमाडौं । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई तीन दिने स्पष्टीकरण सोधेको छ ।
आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले तामाङलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको हो ।
उनले पार्टी र पार्टी नेतृत्वप्रति बोलेको अभिव्यक्तिका आधारमा स्पष्टीकरण माग गरिएको बताइएको छ ।
‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकोले निजको सो कार्य नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क) (ख) (ग) (ङ) र (च) बमोजिमको अनुशासन उल्लघंन भएको देखिएको हुनाले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ (तीन) दिन भित्र स्पष्टिकरण सोध्ने निर्णय गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
उनले बोलेको एक विवादास्पद भिडियो क्लिप हालै बाहिरिएको छ । उनले ‘शेरबहादुरले जित्यो भने गगनले पार्टी फुटाउँछ, बरु त्यसले जितोस् न । उ सँग पैसा टन्नै छ । उससँग अहिले ३ अर्ब पैसा छ । एक अर्ब पैसा अस्ति खर्च भयो, २ अर्ब अझै बाँकी छ,’ भनेका थिए ।
उक्त भिडियो सामाजिक सञ्जालमा यत्रतत्र भएपछि तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया