गृहमन्त्रीमाथि तत्काल छानबिन गर्न कांग्रेसको माग

लोकपथ
35
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि लागेका आरोपबारे छानबिन गर्न माग गरेको छ ।

हालै गृहमन्त्री गुरुङको बिचौलियाहरुसँगको साँठगाँठबारे खबरहरु बाहिरिएपछि कांग्रेसले छानबिनको माग गरेको हो ।

गृहमन्त्री प्रकरण बाहिरिएपछि राजनीतिक नैतिकता र पारदर्शिताबारे गम्भीर प्रश्न उठाएको बताउँदै कांग्रेसले निष्पक्ष रुपमा अनुसन्धानको वातावरण बनाउन माग गरेको हो ।

‘गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ । यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो । त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ,’ कांग्रेस प्रवक्ता देवराज घिमिरेले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ— गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्। यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउनेछ ।’

त्यसो त केही दिनअघि सार्वजनिक भएको मन्त्रीहरुको सम्पत्ति विवरणमा स्रोत स्पष्ट नखुलाइएको भन्दै कांग्रेसले प्रश्न उठाएको थियो ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका बिचौलिया दिपक भट्ट र शंकर ग्रुपका शुलभ अग्रवाल लगायतसँग गृहमन्त्रीको साँठगाँठ र उनीहरुको लगानी रहेको कम्पनीको शेयर गृहमन्त्री गुरुङले केही दिनअघि मात्रै खरिद गरेको तथ्य बाहिरिएको छ । त्यससँगै चौतर्फी रुपमा गृहमन्त्री गुरुङको आलोचना मात्र होइन राजीनामा समेत माग्न थालिएको छ ।

कांग्रेसले भनेको छ :

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने स्पष्ट निर्णय गरिसकेको छ। पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले यस्ता प्रश्नहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको हाम्रो धारणा हो।

यसै निर्णय र प्रतिबद्धताप्रति नेपाली कांग्रेस दृढ छ। नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्ने हाम्रो प्रयास कुनै व्यक्ति, घटना वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ उन्मुख छ।

यस सन्दर्भमा, गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ। यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो। त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ।

अत: नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ— गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्। यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउनेछ।

नेपाली कांग्रेस सधैं पारदर्शिता, जवाफदेहिता र नैतिक राजनीतिको पक्षमा दृढतापूर्वक उभिएको छ र भविष्यमा पनि उभिरहनेछ।

जय नेपाल !

देवराज चालीसे
प्रवक्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?