रास्वपाको जिल्ला अधिवेशन आगामी वैशाख १५ गतेदेखि सुरु हुने

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले वैशाख १५ गतेदेखि पार्टीको जिल्ला अधिवेशन सुचारु गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै पार्टी महामन्त्री एवं प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले यसबारे जानकारी दिएका हुन् ।

बैठकले यसका लागि जिल्ला अधिवेशन कार्यविधि समेत स्वीकृत गरिसकेको उनले बताए । महामन्त्री बुर्लाकोटीकाअनुसार रास्वपाले ७७ मध्ये ७६ जिल्लामा जिल्ला समिति गठन गरिसकेको छ भने डोल्पामा गठनको प्रक्रिया जारी छ । हालसम्म ४ सय ६० पालिकामा समिति बनेको रेकर्ड प्राप्त भएको र करिव २५ सय वडाहरूमा समिति गठन भइसकेको पार्टीले जनाएको छ ।

बैठकले केन्द्रीय नीति विचार विभागमा संस्थापक केन्द्रीय सदस्य महेश्वर घिमिरे र सांसद सुशान्त वैद्य मनोनित गरेको छ ।

केन्द्रीय प्रशिक्षण विभागमा मधु अर्याल, सृष्टि भट्टराई, नवीन श्रेष्ठ, जयदुर्गा बुढाथोकी, नरेश तिमल्सिना र सुजन कुमार श्रेष्ठ गरी ६ जना सदस्य मनोनित गरेको बुर्लाकोटीले बताए ।

केन्द्रीय सङ्गठन विभागमा कमल खनाल (रुपन्देही), तोरण विक (सुर्खेत) र उदय सापकोटा (रौतहट) मनोनित गरेको छ ।

प्रवास नेपाली सम्पर्क विभाग प्रमुखमा सचिवालय सदस्य दीपकराज बोहोरा नियुक्त गरेको छ । यसअघि डोलप्रसाद अर्याल यस विभागको प्रमुख रहेका थिए ।

यस्तै, बैंक खाता सञ्चालनमा उपसभापतिको हस्ताक्षरको सट्टा महामन्त्रीको हस्ताक्षर रहने गरी आन्तरिक कार्यविधिमा परिवर्तन गरिएको छ । रास्वपाले देश र विदेशमा रहेका विभिन्न क्षेत्रका विज्ञहरूलाई पार्टीमा ‘इनपुट’ दिनका लागि औपचारिक आह्वान गर्ने निर्णय गरेको छ ।

पार्टी महाधिवेशनको तयारीका लागि महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा ‘महाधिवेशन कार्यविधि मस्यौदा समिति’ गठन गरिएको छ ।

गएको निर्वाचनमा प्रत्यक्षतर्फ जित हासिल गर्न नसकेका ४० वटा निर्वाचन क्षेत्रमा नागरिकका समस्या सुन्न र समन्वय गर्न समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोक्ने गृहकार्य अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ । यसबाट १६५ वटै निर्वाचन क्षेत्रमा रास्वपाका सांसदले प्रतिनिधित्व गर्ने वातावरण सुनिश्चित हुने पार्टीको विश्वास छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र बजारको महँगीका विषयमा सरकार र पार्टी गम्भीर रहेको बताए । नेपालको भण्डारण क्षमता कम हुनु र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नु मुख्य कारण रहेको उनको तर्क थियो । सीमा क्षेत्रमा घरायसी सामान ल्याउँदा देखिएको समस्याका बारेमा उच्च तहमा छलफल भइरहेको र छिट्टै सहज बनाइने उनले जानकारी दिए ।

रास्वपाको केन्द्रीय समितिको बैठक वैशाख ७ गते दिउँसो ३ बजेका लागि तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?