३६४ दिन कांग्रेस हुने एक दिन पार्टी बिर्सिएर भोट अन्तै हाल्नेहरुलाई चिनौँ : प्रदीप पौडेल

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र यतिबेला एउटा नयाँ तरङ्ग पैदा भएको छ- ‘जरा अभियान’ । निर्वाचनमा व्यहोर्नुपरेको पराजय र जनतासँग टाढिँदै गएको संगठनलाई फेरि जीवन्त बनाउन कांग्रेसले नयाँ तरिकाले अघि बढिरहेको छ ।

केही दिनअघि मात्रै पार्टी सभापति गगनकुमार थापाले अभियानको शुभारम्भ गरेका थिए । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले ‘जरा अभियान’ केबल एउटा औपचारिकता नभई कांग्रेसलाई आधुनिक युगसँग सुहाउँदो ‘डिजिटल पार्टी’ बनाउने महाअभियान भएको बताएका छन् । महामन्त्री पौडेलले अबको राजनीति परम्परागत जुलुस र आमसभामा मात्र सिमित नरहेको बताए ।

यसै यथार्थलाई आत्मसात गर्दै कांग्रेसले आफ्ना सदस्यहरूलाई प्रविधिसँग जोड्न खोजेको उनले बताए । उनकाअनुसार अब प्रत्येक क्रियाशील सदस्यले आफ्नो फेसबुक, टिकटक, इन्स्टाग्राम र ट्विटरको विवरण पार्टीलाई बुझाउनुपर्नेछ । ह्वाट्सएपमार्फत सिधै केन्द्रसँग जोडिने र पार्टीका एजेण्डा प्रत्येक सदस्यको मोबाइलसम्म पुर्‍याउने यो अभियानको मुख्य लक्ष्य हो ।

‘जरा अभियान’ ले वडा सभापतिहरूलाई संगठन विस्तारको पूर्ण जिम्मेवारी सुम्पेको छ । महामन्त्री पौडेलकाअनुसार स्थानीय र प्रदेश तहको चुनाव नजिकिँदै गर्दा संगठनको ‘जरा’ मानिने वडाहरू सक्रिय हुनु अनिवार्य छ । सदस्यता अद्यावधिक गर्ने कार्यलाई बैंकको ‘केवाईसी’ भर्ने प्रक्रियासँग तुलना गर्दै उनले पार्टीका सदस्यहरूलाई जिम्मेवार र सपथ गराएर थप प्रतिवद्ध बनाइने बताए ।

धेरै पुराना नेताहरूमा आफ्नो इतिहास मेटिने हो कि भन्ने चिन्ता रहेकोप्रति टिप्पणी गर्दै पौडेलले भने, ‘हामी इतिहास मेटाउन होइन, बरु आगोले नपोल्ने र पानीले नबगाउने ढंगबाट डिजिटल रूपमा सुरक्षित गर्न खोज्दैछौँ । कसले कहिले सदस्यता लियो, कति जेल बस्यो र पार्टीमा के योगदान दियो भन्नेकुरा अब झोलामा होइन, डिजिटल प्रणालीमा फोटोसहित सुरक्षित रहनेछ ।’

पार्टी भित्रको आन्तरिक कलह र विशेष महाधिवेशनको विवाद अदालत र निर्वाचन आयोगबाट समाधान भइसकेको उल्लेख गर्दै उनले अब ‘जित र हार’ को अहंकार त्याग्न आग्रह समेत गरे । आगामी असोज १६ देखि १९ सम्म तोकिएको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै उनले भने, ‘हाम्रो अर्जुन दृष्टि अब १५औँ महाधिवेशन हो । हामी अधिकतम लचकता अपनाएर सबैलाई समेट्नेछौँ ।’

विगतको निर्वाचनमा कांग्रेस बाहेक अरुलाई भोट हाल्ने वा अनुशासन उल्लंघन गर्ने बाहेक अन्य सानातिना असहमति राख्ने सदस्यहरुलाई कुनै कारबाही नगरिने उनले बताए । बरु, सबैलाई समेटेर एउटै ढिक्का बनाइने उनको भनाइ छ ।
महामन्त्री पौडेलले कांग्रेसभित्रको एउटा तीतो सत्य समेत उजागर गरे ।

धेरै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्य संख्याभन्दा थोरै भोट आएको तथ्याङ्क प्रश्तुत गर्दै उनले भने, ‘३६५ दिनमा ३६४ दिन कांग्रेस हुने तर भोट हाल्ने दिन अर्कै हुने प्रवृत्ति हाम्रो स्कुलिङको समस्या हो ।’ मुलुकमा कुनै यस्तो टोल छैन् जहाँ नेपाली कांग्रेसको सदस्य छैनन्, तर भोट किन आएन ? र यसको जवाफ खोज्न ‘जरा अभियान’ ले मद्दत गर्ने उनको विश्वास छ ।
‘प्रत्येक तीन घरमध्ये एउटा घर कांग्रेसको छ, तर हाम्रो सन्देश जनतासम्म पुगेन । अब सामाजिक सञ्जाल र प्रविधिको प्रयोग गरेर म्यासेज राम्रो बनाउनुपर्छ ।’ उनले थपे ।

महामन्त्री पौडेलले काठमाडौंका उम्मेदवार र नेताहरूलाई आफ्नो ‘डिजिटल टिम’ यसै अभियानमा खटाउन आग्रह गरे ।

वैशाख महिनाभित्र काठमाडौंले सदस्यता अद्यावधिकको काम सकेमा त्यसले देशभर एउटा सकारात्मक सन्देश दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?