काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद अदालतबाट टुंगो लागेको छ । शुक्रबार सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको गगनकुमार थापाको नेतृत्वलाई नै आधिकारिकता दिएको हो ।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा विशेष महाधिवेशन भइ गगन थापाको नेतृत्वमा कांग्रेस अघि बढेको थियो । निर्वाचन आयोगले समेत विशेष महाधिवेशनलाई मान्यता दिएसँगै तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च गएको थियो ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजसालमा उक्त रिटको सुनुवाइ भएको थियो । आज सबै बहससहित जवाफी बहस समेत टुंगिएपछि गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई नै आधिकारिकता दिने निर्णय भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
सर्वोच्च अदालतले देउवा पक्षको रिट खारेज गर्दै विशेष महाधिवेशनलाई आधिकारिकता दिएको हो । गत फागुन २१ को निर्वाचनमा नै गगनको नेतृत्वमा कांग्रेस चुनावमा होमिएको र त्यसले नै विशेष महाधिवेशन वैध रहेको तथा अन्य निवेदनको वैधता समेत खारेज भइसकेको सर्वोच्च अदालतको जिकिर रहेको छ ।
उक्त रिटमाथि रिट निवेदक देउवा पक्षबाट रमेश बडाल, रमण श्रेष्ठ र गोविन्द बन्दी लगायतले बहस गरेका छन् । यता विपक्षी बनाइएका सभापति गगनकुमार थापा पक्षबाट कानुन व्यवसायीहरु हरिहर दाहाल, सिताराम केसी, गोपालकृष्ण घिमिरे, सेमन्त दाहाला, दिनमणि पोखरेल, चन्द्रकान्त ज्ञवाली, पूर्णमान शाक्य, शैलेन्द्र दाहाल, यदुनाथ खनालसहितले बहस गरेका थिए ।
त्यसो त विशेष महाधिवेशनपछि कांग्रेसभित्र तिक्तता बढ्दो छ । निर्वाचनमा नराम्रो हार व्यहोरेपछि कांग्रेसमा थप तिक्तता बढेको हो ।
त्यसो त गगन नेतृत्वको कांग्रेसले आगामी १५औँ महाधिवेशनको मिति समेत तय गरिसकेको छ । आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने मिति तोकिएको हो । हालैको केन्द्रीय समिति बैठकले सो निर्णय गरेपछि त्यसको विरुद्धमा समेत देउवा पक्षले रिट दायर गरेको थियो । विशेष महाधिवेशनले नै आधिकारिकता पाएसँगै तोकिएकै मितिमा महाधिवेशन हुने समेत निश्चित देखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया