सानेपामा कांग्रेस कार्यसम्पादन समिति बैठक, यी हुन् एजेण्डाहरु

लोकपथ
63
Shares
कांग्रेस सभापति गगनकुमार थापा

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकमा ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बसेको छ ।

पार्टी सभापति गगन थापाको अध्यक्षतामा बुधबार बसेको बैठकमा समसामयिक राजनीतिक मुद्दादेखि संगठनात्मक पुनर्संरचनासम्मका विषयमा छलफल भइरहेको छ ।

बैठकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथिको अध्ययन प्रतिवेदन पेश गरेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

कांग्रेसले खनालको संयोजकत्वमा चैत १९ गते कार्की आयोगको प्रतिवेदन अध्ययन गरी राय–सल्लाह–सुझावसहितको प्रतिवेदन बुझाउन अध्ययन समिति गठन गरेको थियो । जेनजी आन्दोलनका घटनाका जाँचबुझ गर्न तत्कालिन सरकारले कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो ।

उक्त आयोगले तयार पारेको प्रतिवेदन अपुरो र एकतर्फी रहेको भन्दै आलोचना भइरहेको छ । कार्की आयोगको प्रतिवेदन अपुरो र एकपक्षीय रहेको भन्दै व्यापक आलोचना भइरहेका बेला काँग्रेसले आन्तरिक रूपमा थप अध्ययन गरी आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको हो । बैठकमा सामाजिक सञ्जालमा बढ्दो विकृति तथा साइबर बुलिङप्रति पनि छलफल हुने प्रवक्ता चालिसेले जानकारी दिए ।

उनकाअनुसार बैठकमा २०४६ सालपछि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पती छानबिन गर्ने प्रस्तावका सम्बन्धमा समेत छलफल हुनेछ । साथै, पार्टीभित्र मर्यादाक्रम व्यवस्थापन, सदस्यता प्रणालीको डिजिटाइजेशन, निर्वाचन ब्युरो गठन तथा प्रशिक्षण प्रतिष्ठान स्थापना लगायतका एजेन्डा पनि छलफल हुने उनले जानकारी दिए । अन्य राजनीतिक दलहरूसँग संवाद र सहकार्यका लागि न्यूनतम साझा एजेन्डा तय गर्ने तथा त्यसका लागि छुट्टै समिति गठन गर्ने तयारी पनि काँग्रेसले अघि बढाएको छ । पार्टीका सार्वजनिक कार्यक्रमहरू प्रभावकारी, व्यवस्थित र आकर्षक बनाउने विषयसमेत बैठकको कार्यसूचीमा समेटिएको उनले जानकारी दिए ।

उनले भने, ‘नेपाली कांग्रेसले वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा विज्ञहरु सम्लिित रहेको कार्की आयोगको प्रतिवेदन अध्यनन गर्नको लागी समिति बनाएका थियौँ । त्यो समितिले लामो अनुसन्धान, विश्लेषण गरेर आफ्नो प्रतिवेदन तयार पारेर बैठकमा प्रश्तुत गरेको छ । त्यो प्रतिवदेनका बारेमा हाम्रो दृष्टिकोण हामी पछि सार्वजानिक गर्नेछौँ । आजको महत्वपुर्ण एजेण्डा भनेको पछिल्लो समय सामाजिक संजालमा जुन विकृति आएको छ, साईवर बुलिङ गर्ने लगायतका यसको बारेमा छलफल गर्नेछौँ । विधिको शासन र राज्य संचालनको सम्बन्धमा पछिल्लो दिनमा देखिएका घटना र प्रवृत्तिका बारेमा पनि हामीले छलफल गर्नेछौँ । २०४६ सालपछि आजसम्मका सार्वजानिक ओहोदामा बसेका मानिसहरुको सम्पत्तिको छानविन गर्ने र अनुचित देखिएका कुराहरुलाई कानुनी दायरामा ल्याउने विषयमा पनि छलफल हुनेछ । पार्टीले आफ्नो संरचना विस्तार गर्ने क्रममा पार्टीको प्रशिक्षण प्रतिष्ठान छ, यसको गठन गर्नेछौँ । निर्वाचन व्युरोको गठन गर्ने तयारी छ, यो अलि प्राविधिक विषय छ, सधै निर्वाचन हुन्छ, निर्वाचनलाई पार्टीले कसरी ट्याकल गर्ने, कस्तो रणनिति तयार गर्ने लगायतका आन्तरिक व्यवस्थापन गर्ने सन्र्दभमा यसको निर्वाचन व्युरो गठन र यसको कार्यविधि बनाउन गईरहेका छौँ । पार्टीको सार्वजानिक कार्यक्रम अलि टिठलाग्दो भयो भन्ने गुनासो आएको छ, यसलाई चुस्त, व्यवस्थित र आर्कषित कसरी बनाउने भन्ने बारेमा कार्यक्रम संचालनका कार्यविधिहरुलाई पनि हामीले छलफलको विषय बनाएका छोँ र त्यसलाई पारित गर्ने क्रममा छोँ । अन्य राजनितिक दलहरुसंग पनि हाम्रो संवाद, सहकार्यको लागी न्युनतम बिन्दु के हुन सक्छन् भन्ने विषयमा पनि छलफल हुनेछ । राजनितिक दलसंग संवाद गर्नको लागि एउटा समिति बनाएर जिम्मेवारी दिने तयारी छ । मर्यादाक्रम नेपाली समाजको ठुलो विषय भएको छ, पार्टीको होस् या सरकारको होस् । पार्टीभित्रको मर्यादाक्रमलाई पनि कसरी व्यवस्थित गर्ने भन्ने पनि छलफल हुनेछ । पार्टीको तल्लोतहसम्म मर्यादाक्रम निर्धारण गर्ने तयारी छ । सदस्यता व्यवस्थापनका बारेमा छलफल हुनेछ, हामी अधिवेशनको क्रममा छौँ । पार्टीको म्यानुअल सिष्टमलाई डिजिटालाईजेशन गरि पार्टीलाई आधुनिकीकरण चुस्त र दुरुस्त गर्दै डाटाबेश सिष्टमलाई प्रभावकारी बनाउने उदेश्यले हामी काम गर्देछौँ । सदस्यहरुको व्यवस्थापन गर्नको लागी केन्द्रिय समितिका सदस्यहरुको पनि चयन गरेर एउटा समिति गठन गर्दैछौँ ।’

पार्टी सदस्यतालाई व्यवस्थित गर्न केन्द्रिय सदस्यहरुको सहभागितामा समिति गठन गर्ने विषयमा पनि छलफल हुने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?