काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निजामती कर्मचारप्रति कटाक्ष गरेका छन् ।
पार्टीका पूर्वमहामन्त्री समेत रहेका नेता सिटौलाले कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीभित्रका पढेलेखेका व्यक्तिहरुबारे चासो नभएको समेत बताए ।
कर्मचारीहरुमा मात्रै क्षमता देख्ने प्रवृत्ति बढेको बताउँदै उनले त्यही विश्वासका कारण देशमा धेरै काम बिग्रिएको बताए ।
‘हामी क्षमता खाली कर्मचारीमा मात्रै किन देख्छौँ,’ उनले भने, ‘हाम्रै पार्टीमा यति धेरै पढेलेखेका, पीएचडी गरेका, डाक्टर, इन्जिनियर अरू थुप्रै विषयका साथीहरू हुनुहुन्छ तर हामीले त्यो विषय खोज्दैनौँ । ठ्याक्कै कर्मचारी भेटिहाल्छौँ । कर्मचारी भएपछि अरू नखोज्ने हाम्रो प्रवृत्ति भयो । कर्मचारीले नै काम बिगारेको छ ।’
त्यस्तै हालै प्रतिनिधि सभाबाट पारित भएको निजामती विधेयकमा ठूलो लापरबाही भएको समेत टिप्पणी गरे । कर्मचारीहरुमा धेरै विश्वास गर्दा निजामती विधेयकमा धोका भएको समेत बताए ।
‘निजामती कर्मचारी विधेयकमा हाम्रो तर्फबाट लाइनलाइन हेर्ने काम भएको छैन । ठुलो लापरबाही भएको छ । कर्मचारीमाथि अत्यन्त ठुलो ट्रस्ट भएको छ,’ सिटौलाले बैठकमा सम्बोधन गर्दैै भने– ‘अब त्यति बिगारेपछि पनि त्यही प्रशासनलाई लिएर हामी परिवर्तनलाई टिकाउन खोज्छौँ भने उनीहरूमाथि विश्वास गर्ने आधारचाहिँ के त अब ?’
त्यस्तै अब न्याय सम्पानमा समेत समीक्षा गर्ने बेला आएको उनले बताए । त्यसको लागि संविधान बलियो बनाउनुपर्ने र नीतिहरुमा समीक्षा गर्न ढिला गर्न नहुने बताए ।
‘न्याय सम्पादनको कुरा समीक्षा गरौँ । न्यायपालिकाको कुरा समीक्षा गरौँ, संविधान बलियो बनाएर समीक्षा गरौँ । संविधान संशोधनले गर्ने नीतिहरूबारे समीक्षा गरौँ । हामीले क्षमता खाली कर्मचारीलाई मात्रै किन देख्छौँ । यसमा पनि समीक्षा हुन जरुरी छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया