बजेटबारे सांसदहरुले बोल्ने क्रम सकियो, भोलिबाट मन्त्रीले जवाफ दिने

लोकपथ
203
Shares

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ ।

सभाको आजको बैठकबाट युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ र सहकारी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगका सचिवालय र राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकहरुमाथि छलफलमा सांसदहरुको बोल्ने क्रम सकिएको हो ।

त्यसअघि, आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले संसद् सचिवालयमा सांसद समन्वय शाखा स्थापना गर्न सुझाव प्रस्तुत गरे । उनले सांसदहरुले जनताका आवश्यकता र योजनाका लागि मन्त्रालय धाउने प्रवृत्तिको अन्त्य गर्दै उक्त शाखामा बुझाउन सक्ने धारणा राखे ।

त्यस्तै नेपाली कांग्रेसका सांसद सीता गुरुङले बजेट महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री नबनेको टिप्पणी गरिन् । उनले आगामी बजेटले सातै प्रदेशमा घरेलु हिंसा वा हिंसा पीडितहरुका लागि सेवा केन्द्र ‘सेफ हाउस’ बनाउने व्यवस्था गर्न माग गरिन् ।

प्रतिनिधिसभाको अर्को बैठक असार ९ गते (सोमबार) बिहान ११ बजे बस्नेछ । सो बैठकमा यस विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथि उठेको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?