राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको २ अर्ब ७४ करोड बजेट पारित, ४०० शय्याको अस्पताल बन्ने

लोकपथ
329
Shares

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सिनेट बैठकले आगामी आर्थिक वर्षका लागि २ अर्ब ७४ करोड ४१ लाख रुपैयाँ बजेट पारित गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ४०० शय्याको अस्पताल निर्माण, शैक्षिक, अनुसन्धानात्मक र व्यवस्थापकीय कार्यका लागि नीति, योजना, बजेट तथा कार्यक्रम अनुमोदन गरेको हो ।

बैठकले ‘शिक्षक तथा कर्मचारीको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली, २०७८’ का केही प्रावधान संशोधन गर्ने र प्रतिष्ठानको लोगो परिवर्तन गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य विज्ञानको आदि भूमि भएकाले प्रतिष्ठानलाई पूर्वाधार र जनशक्ति दुवै हिसाबले सुविधा सम्पन्न बनाई गुणस्तरीय शिक्षा र सेवा प्रवाह गर्न आग्रह गरे । उनले ‘निरोगी नेपाल’ अभियानलाई आत्मसात् गर्दै आमसञ्चार र सामाजिक सञ्जालमार्फत जनचेतना फैलाउन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सक्रिय हुन सुझाव दिए ।

सो अवसरमा प्रतिष्ठानका उपकुलपति डा.विकास लामिछानेले पाँचौँ सिनेटबाट पारित योजनाअनुसार ४०० शय्याको शिक्षण अस्पताल निर्माण कार्य अघि बढिसकेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?