मनोमानी ढंगले बजेट विनियोजन गरिएकोप्रति सांसद अर्जुननरसिंह केसीद्वारा खेद व्यक्त

लोकपथ
189
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आगामी आर्थिक वर्षको बजेट विनियोजन प्रक्रिया मनोमानी ढंगले भएको आरोप लगाउँदै छानबिनको माग गरेका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथि बोल्दै उनले बजेट विनियोजनको प्रक्रियालाई छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने धारणा राखे ।

सांसद केसीले भने, ‘दुई जना उपप्रधानमन्त्रीलाई मेरो विनम्र अनुरोध छ, बजेट विनियोजन प्रक्रिया ठीक छ कि छैन भन्नेबारे एउटा संसदीय समिति गठन गरौं । यदि त्यो सम्भव छैन भने सुशासन समिति वा सार्वजनिक लेखा समितिमा पठाइनुपर्छ ।’

उनले मनोमानी ढंगले बजेट विनियोजन गरिएकोप्रति खेद पनि व्यक्त गरे । ‘मनपरी ढंगले जसरी बजेट विनियोजन भएको छ, त्यो दुखद् मात्र होइन, खेदपूर्ण पनि हो,’ उनले थपे ।

केसीले बजेट वितरणमा समान व्यवहार नभएको भन्दै मन्त्री तथा शीर्ष नेताहरूको जिल्लामा परेको बजेट र अन्य जिल्लाहरूमा परेको बजेटबीच तुलना गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘पुराना र नयाँ सबै सांसदहरूलाई समान रूपमा बजेटले समेटेको छ कि छैन भन्नेबारे छानबिन हुनुपर्छ । मन्त्री र शीर्ष नेताहरूको जिल्लामा परेको बजेट र पूरै देशभरको बजेट एकसाथ तुलना गरौं, स्थिति स्पष्ट हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?