काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले सरकारले कर आतंक फैलाएर अर्थतन्त्र तहसनहस बनाएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद साहले यस्तो आरोप लगाएका हुन् ।
उत्पादन लागत वृद्धि, व्यापार मन्दी र उद्योग क्षेत्रको चौपट अवस्थाको मुख्य कारण कर आतंक भएको उनको भनाइ छ । सांसद साहले सरकारले बजेटमार्फत घरेलु पुँजीको संरक्षण गर्नुपर्नेमा उल्टै पुँजी पलायनलाई सहयोग पुग्ने नीति अवलम्बन गरेको समेत आरोप लगाए ।
उनले भने, ‘आज हाम्रा उद्योगहरू भएका छन्, व्यवसायहरू चौपट छ, व्यापारहरू लथालिङ्ग छन् । हिजो ५० हजारको व्यापार हुने ठाउँमा आज २५ हजारको पनि कारोबार भइरहेको छैन । यो सबैको एउटै कारण छ कर आतंक । सरकारै पिच्छे कर आतंक छ । जसको कारण उत्पादन महँगो भयो र हाम्रो अर्थतन्त्र ड्यामेज भयो । नेपालका पुँजीहरूको जगेर्ना गर्नुपर्थ्यो । सरकारले उद्योगीहरूलाई बचाउनुपर्थ्यो । तर नेपालका पुँजी विदेशमा लैजाने र पुँजी पलायनलाई सहायता गर्ने बजेट ल्याएका छौँ । यसले हाम्रो अर्थतन्त्र कहाँ पुग्छ ?’
उनले सरकार र भ्रष्टाचार पर्यायवाचीजस्तो बनेको समेत टिप्पणी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई छलिरहेको बताउँदै उनकै मातहत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजन विधेयकमाथि छलफल भइरहँदा अनुपस्थित हुनु निन्दनीय रहेको भन्दै आपत्ति जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया