काठमाडौं । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू)मा कमान्डरका रूपमा खटिएका सशस्त्र प्रहरी बलका एसएसपी रवीन्द्रराज कर्णजितमाथि लागेको गम्भीर आरोपलाई लिएर सशस्त्र मुख्यालयले उनीसँगै फर्किएको टोलीसँग सोधपुछ गरिरहेको छ ।
११ औँ डफ्फाको टोलीको नेतृत्व गरेर एक वर्षअघि सुडान पुगेका एफपीयू कमान्डर कर्णजीतमाथि स्वदेश फर्किनुभन्दा केही दिनअघि यूएनमै कार्यरत एक नर्वेजियन महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप छ । सोही आरोपलाई लिएर सशस्त्र मुख्यालयले त्यहाँबाट फर्केका अधिकृत तहका सशस्त्र प्रहरी अधिकारीसँग सोधपुछ थालेको हो ।
स्रोतका अनुसार, सशस्त्र मुख्यालयले केही बिल्लादारसँग पनि एफपीयू कमाण्डर एसएसपी कर्णजीतको त्यहाँ हुँदाखेरीको व्यवहार र सम्बन्धबारे पनि चासो राखेको छ ।
एफपीयू कमाण्डर कर्णजीतमाथि त्यहाँको एक रेस्टुरेन्ट (टुकुल) मा एक नर्वेजियन महिला कर्मचारीको गोप्य अंगमा स्पर्श गरेको आरोप लागेको समाचार लोकपथले यसअघि नै प्रकाशन गरिसकेको छ । कर्णजीतको व्यवहारबाट रिसाएकी ती महिलाले त्यतिखेर नै त्यहाँ हंगामा मच्चाएको र कर्णजीतले रोईकराई गरेर उजुरी गर्नबाट रोकेको यसअघिको समाचारमा उल्लेख छ ।
तर ती नर्वेजियन महिलाले पछि यूएन हेडक्वाटरमा उजुरी दिएपछि मात्रै एसएसपी कर्णजीतको अभद्र व्यवहारको पर्दा खुलेको थियो ।
स्रोतका अनुसार, यूएन हेडक्वाटरले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई घटनाकाबारेमा मेल गरेपछि मात्रै सशस्त्र मुख्यालयले एसएसपी कर्णजीतको कर्तुतबारे थाहा पाएको थियो ।
स्रोतका अनुसार सशस्त्र मुख्यालयलाई यूएन मुख्यालयले दुई पटक पत्र पठाएको थियो । पहिलो पत्रको बेवास्ता गरेपछि यूएन मुख्यालयले दोस्रो पटक चुनौतीपूर्ण भाषा उल्लेख गरेर दोस्रो पत्र पठाएको थियो ।
एसएसपी कर्णजीतको टोलीलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक जहरसिंह बुढाको टोलीले ‘रिप्लेस’ गरेको थियो । बुढाको टोली गत वैशाख २३ गते राति इथियोपियन एयरलाइन्सद्वारा त्यसतर्फ प्रस्थान गरेको थियो । १८० जनाको सो टोलीलाई यही वैशाख २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हार्दिक बिदाइ गरेका थिए । सशस्त्रको एफपीयू मिसन साउन सुडानको जुबामा खटिँदै आएको छ ।
अर्को एक स्रोतका अनुसार, यूएन मुख्यालयले जुबामा रहेको १८० जनाको टोलीलाई समेत फिर्ता पठाउने चेतावनीसमेत दिएको छ ।
एसएसपी कर्णजीतलाई राम्रोसँग चिन्नेहरु भने उनले महिलामाथि यस्तो हर्कत गरेको सहजै पत्याउन तयार छैनन् । उनलाई सोझो, जिम्मेवार र इमान्दार अधिकृतका रुपमा चिन्ने जमात सशस्त्र प्रहरीमा ठूलै छ ।
अंग्रेजी भाषामा राम्रो दख्खल राखेका कर्णजीत सुरक्षा निकायमा आउनुअघि बनेपास्थित एक निजी स्कुलको ‘प्रिन्सिपल’ पनि थिए । आफूमाथि गम्भीर आरोप लागेपछि उनले आफ्नो फेसबुक एकाउन्टसमेत ‘डि–एक्टिभ’ गरिसकेका छन् । उनको फेसबुक एकाउन्टमा यसअघि प्रायः पारिवारिक तस्बिर मात्रै देखिन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया