शिक्षक आन्दोलनमा देखिएको एक दृश्य : ‘शिक्षा ऐन जारी गर्ने कि म पनि विदेश जाउँ ?’

लोकपथ
798
Shares

काठमाडौं । देशभरका शिक्षकहरुले नयाँ शिक्षा ऐन जारी गर्ने लगायतका मागहरु राखेर आन्दोलन गरेको आज १७ दिन पुग्यो ।

१७औँ दिनसम्म पनि आफूहरुको माग पूरा नभएको भन्दै शिक्षकहरु आन्दोलित बनिरहँदा सरकारले भने त्यसमा खास चासो देखाएको छैन । यसबिचमा पनि विभिन्न चरणमा शिक्षक महासंघ लगायत प्रतिनिधिहरुसँग वार्ताहरु भए । तर अघिल्ला वर्षहरुमा जस्तै वार्ता र सहमति हुने तर कार्यान्वयन नहुने देखेपछि शिक्षकहरुले सडक छाडेका छैनन् ।

देशभरबाट आएका शिक्षकहरुले माईतीघरदेखि नयाँ बानेश्वरसम्मको सडकमा शान्तिपूर्ण विरोध प्रदर्शनले यातायात समेत अस्तव्यस्त बनेको छ । अघिल्लो वर्ष शिक्षकहरुको आन्दोलनमा केही अव्यवस्थित भए पनि यस वर्ष भने शिक्षकहरुले शान्त र सौहार्दपूर्ण प्रदर्शन गरिरहेका छन् । त्यति मात्र होइन शिक्षकहरुले आन्दोलनमा देखाएको रचनात्मक ढंगले समेत प्रस्तुतीहरु दिइरहेका छन् । त्यहाँ कोही जादुगर शिक्षक भेटिन्छन्, कोही गीत गाइरहेका, कोही नाचिरहेका त कोही व्यंग्यात्मक कविता र गजलले सरकारलाई झक्झक्याइरहेका देखिन्छन् ।

त्यही भीडमा केही शिक्षकहरुको ढाडमा टाँसिएको एउटा पर्चाले भने सबैको ध्यान खिचेको छ ।

जहाँ लेखिएको छ, ‘नयाँ शिक्षा ऐन जारी गर्ने कि, म पनि विदेशतिर जाऊँ ?’

पछिल्लो समय रोजगारीको मुख्य विकल्पका रुपमा वैदेशिक रोजगारीलाई हेरिन्छ । यही बिचमा शिक्षक आन्दोलनमा समेत सोही दृश्य देखिँदा सबैको ध्यान खिचेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?