काठमाडौं । राजतन्त्र पुनस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाको उपचारको वातावरण बनाउन माग गरेको छ ।
क्यान्सर जस्तो जघन्य रोगको नियमित फलोअप गर्नु पर्ने भए पनि तीनकुने घटनापछि हिरासतमा रहेका राणालाई सरकारले उपचारमा बाधा पुयाईरहेको समितिको आरोप छ ।
समितिका प्रवक्ता स्वागत नेपालले आज विज्ञप्ति जारी गर्दै राणालाई भारतमा उपचार गर्न जानबाट सरकारले रोकिरहेको उनको आरोप रहेको छ ।
‘संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक तथा राप्रपा महामन्त्री डा. धवलशमशेर राणा लामो समयदेखि तीनकुने गोलीकाण्डका सन्दर्भमा झुठो मुद्दाहरुमा फसाइएर क्यान्सरजस्तो गम्भीर रोगको उपचार नपाई पीडादायी अवस्थामा हुनुहुन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँलाई यसपूर्व नै नियमित रुपमा आवधिक परीक्षणको लागि चिकित्सकले नै दिएको समयमा भारतको मुम्बईमा उपचारका लागि जानु पर्नेमा त्यसतर्फ फलोअपका लागि जान नदिने षडयन्त्रमा सरकार लागेकोमा आपत्ति प्रकट गर्दै त्यसतर्फ उपचारका लागि पठाउन जोडदार माग गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै उनको स्वास्थ्य अवस्था गम्भीर रहेका कारण नियमित उपचार पूर्ववत् चिकित्सक र अस्पतालमै गराउने व्यवस्थाका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकार समुयादसँग समेत माग गरिएको छ ।
गत चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा राजतन्त्र र हिन्दूराज्य लगायतका माग राखेर आन्दोलन गरेका थिए । शान्तिपूर्ण आन्दोलन गर्ने भनिए पनि आन्दोलन हिंसात्मक बनेपछि राप्रपाका महामन्त्री डा. राणा र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायतलाई पक्राउ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया