आन्दोलनरत शिक्षकहरूलाई बोर्डले भन्यो– ‘परीक्षा र उत्तर पुस्तिका परीक्षणमा सहयोग गर्नुहोस्’

लोकपथ
1.3k
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को उत्तर पुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्न शिक्षकहरूलाई आग्रह गरेको छ । 

बोर्डले बुधबार एक सूचना जारी गर्दै कक्षा १० को उत्तर पुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनमा सहयोग र सहभागिताका लागि शिक्षकहरूलाई आग्रह गरेको हो । 

शिक्षकहरूको आफ्ना पेसागत हकहित र सुरक्षाका साथै विद्यार्थीको अध्ययन र भविष्य सँगसँगै जानुपर्ने विषय भएको उल्लेख गर्दै बोर्डले यस्तो अपिल गरेको हाे ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जारी गरेको विज्ञप्ति भनिएको छ , ‘कक्षा १० को परीक्षा सकेर बसेका विद्यार्थी आफ्नो सुनिश्चित भविष्यका लागि नतिजा पर्खिरहेको अवस्था छ । अभिभावकहरू समेत आफ्ना सन्तानको गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्यको योजना बनाइरहनुभएको छ । कक्षा १२ का विद्यार्थीहरू विद्यालय तहको अन्त्यमा राष्ट्रिय रूपमा लिइने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा दिनका लागि उत्सुकताका साथ पर्खाइमा रहेका छन् । विद्यार्थीले विद्यालय जीवनभरी गरेको उपलब्धिको प्रमाणपत्र प्राप्त गर्नका लागि पर्खिरहेको कक्षा १२ को परीक्षा आफ्ना बालबालिकालाई अभिभावकले गरेको लगानी, गुरु वर्गले आफ्ना विद्यार्थीलाई गरेको मिहिनेत तथा सरकारले गरेको लगानी समेतको सूचक भएको हुनाले यो तहको परीक्षा अत्यन्तै संवेदनशील र मानवीय पक्ष हो भन्ने विषयमा हामी सबै स्पष्ट नै हुनुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?