काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लामो समयदेखि हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छन् ।
शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री राणाले सो कुरा बताएकी हुन् । उनी संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिई आज स्वदेश फर्किएकी हुन् ।
सो क्रममा सञ्चारकर्मीहरुले विपिनको रिहाइका लागि भइरहेको पहलबारे प्रश्न गरेका थिए । मन्त्री राणाले विपिनको यथार्थ अवस्थाबारे जानकारी प्राप्त हुन नसके पनि रिहाइका लागि पहलहरु भइरहेको बताइन् । साथै इजरायल प्यालेस्टाइन युद्ध अन्त्यका लागि मध्यस्तता गरिरहेका देशहरुसँग विपिनको रिहाइका लागि समन्वय भइरहेको बताइन् ।
त्यस्तै जेनेभामा रहँदा विभिन्न देशका विदेशमन्त्रीहरुसँग भेटघाट गरी नेपालसँग ती देशको सम्बन्धका बारेमा चर्चा गरेको बताइन् ।
मन्त्री राणा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकमा भाग लिन गत हप्ता ६ सदस्यीय प्रतिनिधिमण्डको प्रतिनिधित्व गर्दै जेनेभा प्रस्थान गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया