काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्री दिपक खड्काले पटकपटक स्पष्टीकरण सोधेको भन्दै त्यसको एकमुष्ट जवाफ दिएका छन् ।
आफूलाई प्राधिकरणको नेतृत्वबाट हटाउने मनसायका साथ पटकपटक स्पष्टीकरण सोधिएको भन्दै घिसिङले ४ पृष्ठ लामो स्पष्टीकरण बुझाएका हुन् ।
त्यस्तै आफूलाई हटाउने मनसायका साथ विभिन्न आरोप लगाइएको तर ती सबै आरोपहरु मनोगत मात्रै भएको स्पष्ट पारेका छन् ।
‘म उपर लगाइएका सबै आरोपहरु मनोगत हुन् । मेरो नियुक्ति पश्चातको प्रगतिको सूचकांकले सबै प्रगति उजागर गर्दछ । तसर्थ आत्मगत रुपमा जवाफ चित्त बुझ्दो नभएको भनी पुनः स्पष्टीकरण माग गरिएको कानुन र न्यायको मान्य शिद्धान्त प्रतिकुल छ,’ स्पष्टीकरणमा भनिएको छ ।
त्यस्तै आफूमाथि मन्त्री खड्काले अपरिपक्क र अनुचित तवरबाट स्पष्टीकरण सोध्ने काम भएको भन्दै कटाक्ष गरेका छन् । आफूलाई स्पष्टीकरण सोधिएको र त्यसको डेड महिनासम्म कुनै कारबाही प्रक्रिय अघि नबढाइएको तर पुनः २४ घण्टाको अवधि दिइ स्पष्टीकरण सोधिएको बताएका छन् ।
‘मेरो विगत दुई आवको कार्यसम्पादन मूल्यांकन भएको व्यहोरा तहाँको अभिलेखमा रहेको. छ । तहाँ समक्ष पेस गरेको आव २०८०–०८१ को कार्यसम्पादन मूल्यांकन नै नगरी स्पष्टीकरण माग गरिएको विषय आफैँमा अपरिपक्क र अनुचित छ,’ कुलमानको स्पष्टीकरणमा भनिएको छ, ‘मिति २०८१–९–२८ मा पेस गरेको स्पष्टीकरणको सम्बन्धमा लगभग डेढ महिनासम्म कुनै कारबाही नगरी अचानक चौविस घण्टाको अवधि दिई स्पष्टीकरण माग गरिएको कार्य प्रक्रियागत रुपमा गम्भीर त्रुटीपूर्ण, अनाधिकारयुक्त एवं पूर्वाग्रह प्ररित रहेकोले त्यस्तै स्पष्टीकरणको आधारमा सेवाबाट हटाउन नमिल्ने व्यहोरा प्रष्ट गर्दछ ।’
आफू उर्जा क्षेत्रको दिगो विकासका लागि निरन्तर लागिरहेको तर आफूलाई निरन्तर स्पष्टीकरण सोधेर हतोत्साहित गराइएको भन्दै कटाक्ष गरेका छन् । साथै आफू कुनै पनि हालतमा किन्चित नभइ आफ्नो कार्यसम्पादनमा लागिरहने समेत स्पष्ट पारेका छन् ।
‘नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले उर्जाक्षेत्रको दिगो विकासे लागि विद्युत प्राधिकरणको नेतृत्व प्राप्त गरी राष्ट्र विकासमा योगदान गर्न दिइएको जिम्मेवारीबाट अनुप्राणित भई कार्य गरिआएको छु । यस अवस्थामा मलाई हतोत्साहित गराउने उदेश्यले श्रृंखलावद्ध स्पष्टीकरण, विवरण एवं कागजात माग गर्ने, गर्न लगाउने लगायतका क्रियाकलापहरु भइरहेता पनि त्यस्ता क्रियाकलापहरुबाट किन्चित विचलित नभइ नेपाल सरकारले दिएको जिम्मेवारी अत्यन्त लगन र निष्ठाका साथ पूरा गरिरहेको छु । विविध प्रतिकुलता, असहयोग र अवरोधका बाबजुद प्रचलित कानुन र पदीय जिम्मेवारी भित्र रही विवेकसम्मत र निष्ठापूर्वक कर्तव्य पूरा गरिआएको छु । प्राधिकरणको कार्यकारी निर्देशकको पदमा रहेसम्म राष्ट्र, जनता र प्राधिकरणको हितलाई सर्वपरी ठानी प्रचलित विधि र स्थापित मूल्यमान्यतासमेतका आधारमा कार्य गरिरहने प्रतिबद्धता व्यक्त गर्दछु,’ स्पष्टीकरणमा भनिएको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया