एमसीसी रोकिएकोमा विप्लव खुसी, दिए ट्रम्पलाई धन्यवाद

लोकपथ
210
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अमेरिकी विकास साझेदार कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) रोकिएकोप्रति खुसी व्यक्त गरेका छन् ।

गत जनवरी २० मा अमेरिकाको ४७औँ राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले एमसीसी परियोजना ९० दिनका लागि रोकिएको छ । विद्युत र सडक सञ्जाल विस्तारका लागि हालसम्मकै ठूलो मानिएको एमसीसी परियोजना रोकिएको घोषणा गरेका थिए ।

सोही विषयमा प्रतिक्रिया जनाउँदै आइतबार विप्लवले भनेका छन्, ‘एमसीसी कम्प्याक्टको तयारी र त्यसको कार्यान्वयनको समयदेखि नै आम नेपाली जनताले एमसीसी कक्प्याक्ट देशको राष्ट्रिय स्वाधिनता र आफ्नो राजनीतिक स्वतन्त्रताको विरुद्धमा हुने ठहर गर्दै सुरुकै दिनबाट अनवरत संघर्ष संचालन गर्दै आइरहेका छन् । डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ । यसका लागि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’

त्यसो त नेपालमा एमसीसी लागू हुने बेलादेखि नै विप्लव नेतृत्वको नेकपाले विरोध जनाउँदै आइरहेको थियो । नेकपाले एमसीसी अमेरिकाले अघि सारेको हिन्द प्रसान्त रणनीति (इन्डोप्यासिफिक स्याटेजी) को अंग रहेको आरोप लगाउँदै आइरहेको छ ।
त्यसो त टम्पको आदेशपछि आगामी दिनमा एमसीसी के हुन्छ भन्न सकिन्न । विप्लवले भने एमसीसी सधैँका लागि बन्द गर्दै नेपाल र अमेरिकाबीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?