काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले नेपालका अदालती प्रक्रियाहरू पनि छिटै अनलाइन प्रणालीबाट टुंगो लगाउने बताएका छन् ।
नेपाल चाइना लिगल कोअप्रेशन फोरमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले केही समय पहिला आफू चीन भ्रमणमा गएको र त्यसताका चिनियाँ सर्वोच्च अदालतसहित केही अदालतहरूको अवलोकन गर्ने क्रममा अदालतमा सबै प्रक्रियाहरू अनलाइन प्रणालीबाट सम्पन्न हुने गरेको पाएको बताए । उनले भारतमा पनि अदालतका कारबाहीहरू अनलाइनबाट हुने गरेको भन्दै नेपालमा पनि केही सुरु भएको तर पूर्ण रूपमा हुन नसकेको उनको भनाइ छ ।
अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने उनको दाबी छ । चीन र भारतबाट यसबारे अझ विस्तृत रूपमा अध्ययन गरेर नेपालमा अदालती प्रक्रियालाई अनलाइन प्रणालीबाट प्रभावकारी व्यवस्थापन गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अरू देशहरूको कानुनी प्रक्रियाबारे जानकारी नलिइकन नेपालमा पनि कानुनी पद्धतिमा निखार आउन नसक्ने बताए । उनले एकनासे कानुन पद्धति कार्यान्वयन गरिरहन नसकिने बताए ।
जति छ त्यत्तिमै सीमित हुनुपर्छ र यही विशेषता हो भन्नु जिद्दी मात्रै हुने बताए । कुनै पनि देशको कानुन आफूभित्रबाट मात्रै जन्मिएको र त्यहीँ हुर्किएको र त्यहीँ टुंगिएको भन्ने नभएको बताए । एक अर्काबाट पद्धतिगत अवलोकन भ्रमण गरेर त्यसको यथार्थताको बारेमा जानकारी लिनु राम्रो रहेको उनको भनाइ छ ।
उनले कानुनहरू स्थानीय हुने तर त्यसका सिद्धान्त, दर्शन, अभ्यासहरू एक अर्काबाट सिकेर फेरि विस्तारित र विकसित गर्न जरुरी हुने बताए । लिगल कोअप्रेशनको अभ्यास महत्त्वपूर्ण आयाम भएको जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया