पोखरामा वायु प्रदूषण उच्च

लोकपथ
98
Shares

काठमाडौं । गण्डकी प्रदेश राजधानी पोखराको वायू प्रदुषण निकै अस्वस्थ स्थितिमा पुगेको छ । पोखरा नेपालको सबैभन्दा बढी प्रदूषित शहरमा लगातार ३ दिनदेखि पर्दै आएको छ । वातावरण विभागको वायु गुणस्तर निगरानीले शुक्रबार बिहान पौने ६ बजेसम्म पोखराको वायु प्रदूषण २०३ एक्यूआई मापन गरेको जनाएको हो ।

विभागको तथ्यांकअनुसार यो पोखराका लागि पछिल्लो ३ दिनयताकै सबैभन्दा खराब सूचकांक हो ।

वायु गुणस्तर निगरानीले पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुललाई आधार मानेर वायु गुणस्तर मापन गर्दै आएको छ ।

वातावरण विभागले पोखरासहित देशका विभिन्न ९ शहरमा वायु प्रदूषण खराब स्थितिमा रहेको जानकारी दिएको छ । वातावरण विभागका अनुसार भक्तपुरको १८६ एक्यूआई, काठमाडौं शंखपार्कको १८९ एक्यूआई, भैंसेपाटी क्षेत्रको वायु प्रदूषण १७९, हेटौंडा १७४, रत्नपार्क १७१, खुमल्टार १६९, भरतपुर १६४, धनगढी क्षेत्रको १६२ एक्यूआई मापन गरिएको छ ।

५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ ।

वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ । ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।

विश्वकै तेस्रो प्रदूषित शहर काठमाडौं

विश्वभरको मुख्य मुख्य क्षेत्रको वायु स्वच्छता जाँच्दै आएको आईक्यू एअरले काठमाडौंको वायु प्रदूषण १७५ एक्यूआई मापन गरेको छ । विश्वभरको तथ्यांकमा भने नेपाल समग्र तेस्रो स्थानमा छ । कंगोको किन्शासा शहर २११ एक्यूआईसहित विश्वको प्रदूषित शहरमा पहिलो नम्बरमा हुँदा दक्षिण एसियाली मुलुक पाकिस्तानको लाहोर १९९ एक्यूआईसहित दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?