काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले फागुन १ गतेलाई जनक्रान्ति दिवसका रुपमा मनाउनुपर्ने बताएका छन् ।
आज फागुन १ तत्कालीन माओवादीले २०५२ साल आजैको दिनबाट १० वर्षे सशस्त्र संघर्ष सुरु गरेको थियो । १० वर्षसम्म चलेको सशस्त्र द्धन्द्धका कारण हजारौँ नागरिकहरुले ज्यान गुमाए भने अझै हजारौँ बेपत्ता रहेका छन् ।
तत्कालीन माओवादी युद्धका कमाण्डर समेत रहेका डा. भट्टराईले सामाजिक सञ्जालमा लेख्दै लामो संघर्षपछि प्राप्त उपलब्धीलाई जुंगाको लडाईको रुपमा लिन नहुने समेत बताए ।
डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ः
फागुन १ गते। नेपालको युगान्तकारी जनविद्रोह (जनयुद्ध) शुरू भएको दिन ! संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न शुरू गरेको दिन। त्यो महायज्ञमा अमूल्य ज्यान अर्पण गर्ने महान शहीदहरू, वेपत्ताजन, घाइतेरअपांग योद्धाहरू सबैमा अन्तर्हृदयदेखि उच्च सम्मान ! शब्दको जुंगाको लडाइँ छोडौं। फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक बर्ष ‘जनक्रान्ति दिवस’ को रुपमा मनाऔं ! १९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२/६२ सालको सशस्त्र जनयुद्ध, २०६२–६३ सालको संयुक्त जनआन्दोलन, मधेश विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोडौं !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया