‘भन्सार एजेण्ट नियुक्तिको प्रावधानलाई थप प्रभावकारी बनाऔँ’

लोकपथ
63
Shares

काठमाडौं । भन्सार एजेण्ट नियुक्तिको प्रावधानलाई थप प्रभावकारी बनाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । 

बुधबार बसेको अर्थ समितिको बैठकमा बोल्दै सांसदहरूले सरकारले परीक्षाको व्यवस्थित प्रणालीमार्फत भन्सार एजेण्टहरु नियुक्त गर्ने गरेको तर त्यसको प्रतिफल के हुन्छ सरकारलाई भन्ने बारेमा स्पष्ट नरहेको उनीहरूले बताए । 

भन्सार एजेण्डटबाट नेपालको राजश्वमा के फाइदा हुन्छ भन्ने सांसदहरूको प्रश्न छ । भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँगको छलफलमा समितिको बैठकमा बोल्दै नेकपा एमाले सचेतक सुनिता बरालले परीक्षाको व्यवस्थित प्रणालीमार्फत भन्सार एजेण्टहरु नियुक्त गर्ने प्रावधान रहेको भए पनि यसलाई अझ व्यवस्थित गर्नुपर्ने माग गरे । 

उनले लाइसेन्स प्राप्त भन्सार एजेण्टहरुलाई काम कारबाहीमा परेका अप्ठ्याराहरूलाई पनि विधेयकले समेट्नुपर्ने बताइन् । भौगोलिक कारणले नेपालकै एउटा स्थानबाट अर्को स्थानमा जाँदा विदेशी मुलुक हुँदै जानुपर्ने अवस्थामा नेपालबाट नेपालकै लागि लगिएको वस्तुमा महसुल लिइने छैन भनेर विधेयकमा लेख्नुपर्ने बताइन् । 

समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भन्सारहरू प्रविधिसँग भन्सारका कर्मचारीहरू अपडेट भइरहनुपर्ने बताए । उनले ५ वर्षमा सोच्ने कुरा गरेर भन्सार अघि बढ्न नसक्ने बताए । भन्सारका प्रविधिबारे हरेक वर्ष रिभ्यु गर्नुपर्ने र कर्मचारीको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताए । 

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सिंहदरबारमा बसेर सोचेको भन्दा भन्सारमा पुगेर हेर्दा विषयवस्तुहरू फरक हुने गरेको बताए । उनले  समिति कानुन बनाउन सबैभन्दा अधिकार सम्पन्न ठाउँ भएकाले सोहीअनुसारको समस्या समाधान हुने गरी कानुन बनाउनुपर्नेमा जोड दिए । भन्सारमा भएका बेथितिका कुराहरू अन्त्य गर्न विधेयक ल्याउनुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?