पाल्पा । पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहलमा आज अन्तरप्रदेश समन्वय बैठक बस्दैछ । लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको अन्तरप्रदेश समन्वय बैठक आज बस्न लागेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयलगायत प्रदेशका मन्त्री, मुख्यसचिव, सचिवलगायत कर्मचारीको अन्तरप्रदेश समन्वय बैठकमा सहभागिता रहनेछ । कालीगण्डकी नदीको तटमा अवस्थित रानीमहल दरबारमा दुई प्रदेशका मुख्यमन्त्रीसहितको बैठकमा लुम्बिनी र गण्डकी प्रदेशका भावी योजनाबारे विस्तृत गहन छलफल हुनेछ ।
कालीगण्डकी नदीले लुम्बिनी र गण्डकी प्रदेशलाई जोडेकाले दुई प्रदेशको पर्यटन प्रवर्द्धन, अन्तरप्रदेश व्यापार, व्यवसायलगायत क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पार्ने भएकाले यहाँ बस्ने बैठकलाई विशेष चासोका रूपमा हेरिएको तानसेन–१३ का वडाध्यक्ष टुकप्रसाद भट्टराईले बताए । विशिष्ट व्यक्तिको उपस्थितिले नदी वारिपारिका क्षेत्रको समृद्धि र विकासका साझा सरोकारका विषयमा महत्त्वपूर्ण विषय उठान हुने सरोकार भएकाको अपेक्षा छ ।
नेपालको ताजमहलका रूपमा चिनिने पाल्पाको रानीमहल दरबार जिल्ला सदरमुकाम तानसेनबाट करिब १३ किलोमिटर उत्तरमा अवस्थित छ । करिब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको रानीमहलमा २४ कोठा छन् । यसको परिसरमा मनमोहक बगैँचा, शिवलालय, पानीपोखरी, शिवलिङ्गमा नागनागिनीले जल शेचनको दृश्य, भान्साघर, घोडा बाँध्ने तबेला ठूला घण्टसहितको विभिन्न आकर्षक कलाकृतिहरू देख्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया