‘संक्रमणकालीन न्याय निरुपणका बाँकी काम शीर्ष तीन नेताको सहमतिबिना अगाडि बढ्न सक्दैन’

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडेले संविधान निर्माणको लामो समयसम्म पनि द्वन्द्व पीडितहरुले सामाजिक र आर्थिक न्याय पाउन नसकेको बताएका छन् ।ललितपुरमा आयोजित ‘संक्रमणकालीन न्याय र पीडितको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले द्वन्द्वपीडितको अधिकारका लागि संविधानमा उल्लेख गरिएको कुराहरू कार्यान्वयनमा आउन नसकेको बताए । उनले राजनीतिक दलहरूले संविधानमा उल्लेखित अधिकार कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन नसक्दा द्वन्द्वपीडितले न्याय पाउन नसकेको उनको भनाइ छ । उनले कानुन निर्माण र कार्यान्वयनमा राजनीतिक दलहरू चुक्दा दलित समुदायले जग्गा पाउन नसकेको बताए । उनले संक्रमणकालीन न्याय निरुपणका बाँकी कामहरू शीर्ष तीन नेताको सहमतिबिना अगाडि बढ्न नसक्ने बताए । 

आयोगका सदस्य डा.सूर्यप्रसाद शर्मा ढुंगेलले संक्रमणकालीन न्यायसम्बन्धी बाँकी कामहरू टुंगाउन सबै कमिसन होलडर्सहरुले प्रयास जारी राख्नुपर्ने बताए । उनले टिआरसीसम्बन्धी बाँकी कामहरू सम्पन्न गर्न राजनीतिक दलहरूले नै जागरुकता देखाउन जरुरी रहेको बताए ।

उनले संक्रमणकालीन न्याय सम्पादनको काम छिटो सम्पन्न गर्न आयोगले आग्रह गर्दै आए पनि सत्तासिन दलहरूले चासो नदेखाएको आरोप लगाए । उनले ‘संक्रमणकालीन न्याय सम्पादन र पीडितको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको कार्यान्वयनका लागि गोष्ठी र भेलाहरूको माध्यमबाट अगाडि बढ्न जरुरी रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?