काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण गर्ने मेडिकल व्यवसायीहरुको छाता संगठन नेपाल मेडिकल व्यवसायी संघको कार्यालयमा लागेको ताला खुलेको छ ।
काठमाडौं महानगरपालिका वडा नं ३ बसुन्धरास्थित संघकै असन्तुष्ट पक्षले ताला लगाएको थियो । गत असोजमा लगाइएको ताला जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि आज खुला गरिएको हो ।
प्रशासनको आदेश अनुसार वडाका जनप्रतिनिधि, महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएका सुरक्षाकर्मी, मेडिकल व्यवसायीसहित स्थानीयको रोहवरमा ताला खोलिएको संघका महासचिव कृष्णप्रसाद बजगाईँले जानकारी दिए ।
गत असोज ७ र ८ गते काठमाडौंमा निर्वाचन सम्पन्न गरी तारानाथ अर्यालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन भएको थियो ।

लामो समय ताला लागेपछि संघले कामकारबाही गर्न नसकिएको भन्दै आगामी दिनमा निरन्तर मेडिकल व्यवसायीहरुको हकहितमा काम गर्ने महासचिव बजगाईँले बताए ।
‘हामी मेडिकल व्यवसायीहरुको हकहितका लागि लागिरहेका छौँ, तर निर्वाचन प्रक्रियामा हार भइसकेपछि असन्तुष्ट पक्षका केही व्यक्तिहरुले असहजता सिर्जना गरे पनि आजबाट त्यो तोडिकएको छ । हामी निरन्तर अब व्यवसायीको हकहितको काममा फर्किन्छौँ,’ उनले भने ।
सर्वसम्मत रुपमा नेतृत्व चयन भए पनि केही समयपछि नै केही व्यक्तिहरुले असन्तुष्टी जनाउँदै आइरहेका थिए । संघको नेतृत्वले पटकपटक समन्वयका लागि ढोका खुला गर्दा पनि आफूहरु नै आधिकारिक हो भन्दै कार्यालयको काम ठप्प बनाएको महासचिव बजगाईँको आरोप छ ।

‘विभिन्न समयमा हामीले उहाँहरुसँग समन्वय गर्न खोजेका थियौँ तर उहाँहरुले एकलौटी रुपमा अराजकशैली देखाएपछि हामी जिल्ला प्रशासनसम्म पुग्न बाध्य भयौँ,’ उनले भने ।
त्यसो त त्यसयता निवर्तमान महासचिव नवराज पौडेलले आफू आधिकारीक महासचिव रहेको दाबी गर्दै आइरहेका छन् ।
‘नवराज पौडेल जो आफू नोमिनेसका लागि समेत नआइसकेपछि पराजित हुनुभयो । तर नयाँ कार्यसमिति आइसकेपछि उहाँहरु अराजकशैलीमा अहिले पनि हामी नै हो आधिकारिक भन्ने तरिकाले लाग्दै हारको छटपटी देखाउँदै आइरहनुभएको छ । आगामी दिनमा उहाँहरु पुनः सोही रवैया देखाइरहनुभयो भने नेपालको कानुन अनुसार दण्डको भागिदार समेत हुनुहुनेछ,’ उनले भने ।

संघका अध्यक्ष तारानाथ अर्यालले गत माघ १० गते कार्यालयमा अनावश्यक रुपमा लगाइएको ताला खोल्नका लागि आग्रह गर्दै जिल्ला प्रशासनमा निवेदन दिएका थिए । प्रशासनले आधिकारिक नेतृत्वलाई काम गर्न सहज बनाउन ताला खोल्न आवश्यक प्रवन्ध गरेको हो ।
यो पनि…
स्वास्थ्य परीक्षणमा देखिएको सिण्डिकेट अन्त्य गर्न मेडिकल व्यवसायी संघको माग
मलेसियाको सिन्डिकेट तोडिएपछि मेडिकल व्यवसायी संघको यस्तो अपिल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया