एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैन : प्रचण्ड

लोकपथ
63
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताएका छन् ।

सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले देशको स्थिति सहज रुपमा अघि बढ्न नसकेको बताए ।

त्यस्तै प्रचण्डले अध्यादेश राष्ट्रिय सभामा बहुमत पुर्‍याउन नसक्दा अघि बढ्न नसकेको बताउँदै जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले आफ्नो मुद्दा छोडेर समर्थन नगरेको खण्डमा अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने जिकिर गरे ।

उनले दुई तिहाईको सरकार अध्यादेशको बाटोमा जानु नै गलत रहेको बताए ।

उनले भने, ‘अहिले स्थिति त्यति सहज गइरहेको छैन । सदन सुरु भएको छ । सदनमा अध्यादेश प्रश्तुत भएका छन् तर ति रोकिएका छन् । तपाईंहरुले राष्ट्रिय सभाको स्थिति बुझिराख्नुभएकै होला । त्यहाँ अहिले अगाडि बढ्न सकिरहेको स्थिति छैन । सरकारले जसरी एउटा गलत नियतले सदन बोलाउनुपर्ने बेलामा अध्यादेश ल्यायो । प्रक्रियाको दृष्टिकोण र कतिपय सारको दृष्टिकोणले पनि भूमि सम्बन्धी विषय जसरी ल्याइएको छ, त्यसको उद्देश्य गलत देखिएको छ । त्यस विषयमा पनि सदनमा मैले स्पष्टसँग भनेको छु । हाम्रो ध्यान मधेसको जनतालाई संगठित र परिचालित गर्नेकुरामा केन्द्रित हुन्छ । सरकारले आफूसँग दुई तिहाई छ भन्ने गरेको छ । दुई तिहाई भएको सरकारले अध्यादेशको बाटो जानु हुँदैन थियो । दुई तिहाई हुँदाहुँदै पनि यो सरकार कति कमजोर छ भन्नेकुरालाई प्रमाणित गरेको छ । अहिले प्रश्तुत गरिसकेपछि त्यो रोक्नुपर्ने बाध्यता के हो भने दुई तिहाई उनीहरुसँग छैन भन्ने देखिन्छ । राष्ट्रिय सभामा बहुमत पु¥याउन पनि कठिन छ । बाहिर जसरी चिजहरु आइरहेको छ, जनता समाजवादी पार्टीको । जसपाले भूमि सम्बन्धी अध्यादेशको विधि, प्रक्रियाका बारेमा अडिनुभएको छ । उहाँहरु अडिनुहुन्छ । उहाँहरुले आफ्नो अडान छोड्नुभएन भने राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ । एमालेको नेतृत्वमा केपीजी रहँदासम्म नेपालका कम्युनिष्ट एकता, वामपन्थी एकता सम्भव छैन ।’

अध्यक्ष दाहालले सरकारमा आफूहरुको ध्यान नरहेको दाबी गरे । प्रधानमन्त्री ओली अहिलेको आन्दोलन, परिवर्तन बर्बाद गर्न र संविधान खारेज गर्न चाहने व्यक्ति भएको आरोप लगाउनु भयो । मधेसी जनताको लागि दुई पटक संसदमा संविधान संशोधनको प्रश्ताव गर्दा प्रधानमन्त्री ओलीले नै रोकोको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?