राष्ट्रपति प्रमुख अतिथि रहेको अख्तियारको कार्यक्रममा प्रधानमन्त्री ओली किन गएनन् ?

लोकपथ
868
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसमा सहभागिता जनाएनन् ।  

राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहेको पूर्वनिर्धारित सो कार्यक्रममा प्रधानमन्त्री सहभागी नभएपछि उनको स्वास्थ्यबारे फेरि चर्चा हुन थालेको छ । 

यसअघि माघ ९ गते भएको सशस्त्र प्रहरी बलको २४ औँ वार्षिकोत्सव समारोहमा पनि उनले सहभागिता जनाउन सकेका थिएनन् । त्यसबेला प्रधानमन्त्री ओलीको घाँटीमा समस्या भएको थियो ।  

तर अख्तियारको स्थापना दिवसमा प्रधानमन्त्री ओली नजानुमा कुनै स्वास्थ्य समस्या नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री कार्यक्रममा नजानुमा ‘लेट नाइट’ बसेकाले सहभागी हुन नसकेको जनाएको छ । 

‘त्यस्तो केही समस्या होइन । चार बजे बिहानसम्म प्रधानमन्त्री बस्नुभएकाले उठ्न ढिला भएपछि नजानुभएको हो,’ प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँले भने, ‘स्वास्थ्यमा समस्याका कारण होइन ।’

सो कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार सम्बन्धी उजुरी र मुद्दाहरू लामो समयदेखि किनारा नलागेकोतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

उनले भ्रष्टाचार सम्बन्धी उजुरी र मुद्दा लामो समयदेखि किनारा नलागेको गुनासो आइरहेको भन्दै त्यसलाई छिटो टुंगोमा पुर्‍याउनुपर्ने बताएका हुन् । उनले ठूला खरिद प्रक्रियामा भएको भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रपति पौडेलले आगामी दिनमा आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अझै प्रभावकारी ढङ्गले काम गर्ने विश्वास व्यक्त गरे । स्वच्छ पारदर्शी समाज निर्माणमा योगदान होस् भन्ने उनको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?