सिरहा । सरकारको रूपान्तरकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडकखण्ड विस्तार तथा स्तरोन्नतिको काम चार वर्षमा ५३ दशमलव चार प्रतिशत निर्माण प्रगति सम्पन्न भएको छ ।
सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६ दशमलव ८३ किलोमिटर पूर्वपश्चिम लोकमार्गको यस सडक विस्तार तथा स्तरोन्नतिका लागि दुईपटक म्याद थपिसकिएको छ ।
सडक निर्माणको कार्यको थालनी सन् २०२० अक्टोबर २९ देखि सुरु भई २०२३ अक्टोबर २८ सम्म सक्नुपर्ने भए पनि समयमा काम सम्पन्न नभएपछि पहिलो पटक म्याद थप गरी २०२४ डिसेम्बर २८ सम्म पुर्याइएको थियो । तर, यस थपिएको समयमा पनि आधामात्र काम सम्पन्न भयो ।
त्यसपछि अन्तिम पटकलाई भन्दै अहिले पुनः २०२५ डिसेम्बर ३१ सम्म एक वर्षको म्याद थप गरिएको सडक विभागअन्तर्गत कञ्चनपुर–कमला सडक योजना पश्चिम खण्डका प्राविधिक शाखा इन्जिनियर सरोज कोइरालाले जानकारी दिए ।
दुई खण्डमा निर्माण भइरहेको यस आयोजनाको लागत १५ अर्ब ६६ करोड ४४ हजार नौ सय ८३ (भ्याट र पिससमेत) रहेको छ । यो आयोजनामा ८६ दशमलव ८३ किलोमिटर सडक कालोपत्रे गर्ने, दुई सय २९ वटा कल्भर्ट र ५४ वटा मुख्य पुल निर्माण गर्नुपर्ने सम्झौता रहेको छ । सहरी क्षेत्रमा छ लेनको सडक विस्तारको काम भइरहेको छभने अन्यन्त्र चार लेनको सडक निर्माण भइरहेको छ ।
चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुप’ ले ठेक्का पाएको यस आयोजनाअन्तर्गत हालसम्म पश्चिम (सिरहा) खण्ड बलानबाट कमलासम्म ४७ किलोमिटर सडक निर्माणकोे लागत आठ अर्ब ३८ करोड ९९ लाख ६८ हजार सात सय ४८ रहेको छ ।
पश्चिम खण्ड प्राविधिक शाखाका इन्जिनियर कोइरालाका अनुसार यस खण्डमा २५ वटा पुल र एक सय १५ वटा कल्भर्ट निर्माण गर्नुपर्नेमा हालसम्म १७ वटा पुलको ढलान सम्पन्न भएको छभने आठवटा पुलको ढलान सम्पन्न हुन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया