काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यादेशमा सहयोग खोज्दै आफूलाई फोन गरेको माओवादी नेता वर्षमान पुनको दाबीप्रति असन्तुष्टि जनाएका छन् ।
उनले यसलाई सार्वजनिक खपतको विषय मात्र भएको टिप्पणी गरेका छन् । महासचिव पोखरेलले नेताहरूबीच शिष्टाचारवश हुने कुराकानीलाई पुनले प्रचारबाजीको विषय बनाएकाले आगामी दिनमा अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने देखिएको पनि टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एमाले महासचिव पोखरेलले भनेका छन्, ‘नेताहरूका बीचमा शिष्टाचारवश हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारबाजी गर्नुभएछ । अब त उहाँसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो । पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समय समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसँग अनौपचारिक रूपमा कुरा गर्दछ । अनौपचारिक रूपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्दछन् । त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिँदैन ।’
‘उहाँले के उद्देश्यले त्यसो गर्नु भो स्पष्टै छ । तर, त्यसले उहाँलाई र उहाँको पार्टीलाई नै नोक्सान हुने कुरा हो । जहाँसम्म उहाँसँग भएको कुराकानी सम्प्रेषित समाचारको स्प्रिट पूर्णतः फरक छ । मसँग उहाँले गरेको कुराकानी र सम्प्रेषित समाचार पूर्णतः फरक पनि छ । तर, अहिले म त्यो विषयमा चर्चा गर्नु उचित पनि ठान्दिनँ’, उनले भनेका छन्, ‘वास्तवमा वर्षमानजीले सार्वजनिक गरेजस्तै सहयोग र याचना गर्नुपर्ने आवश्यकता भएको भए उहाँसँग होइन सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहालमार्फत नै हुने थियो । आवश्यक ठानिएको विषयमा अहिले पनि हुँदै पनि आएको छ । जस्तो संक्रमणकालीन न्यायको विषयमा ।’
पुनले शनिबारमात्रै पोखरेलले आफूलाई टेलिफोन गरेर अध्यादेशको विषयमा सघाउन याचना गरेको बताएका थिए ।
पुनले ‘आफू पाल्पामा पार्टी कामको सिलसिलामा रहेको बेला एमाले महासचिव पोखरेलले टेलिफोन गरी अध्यादेशमा सघाउन’ आग्रह गरेको दाबीसमेत गरेका थिए । गुल्मी चन्द्रकोट गाउँपालिकाको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले ‘अध्यादेश पारित गर्न पोखरेलले आफूसँग सहयोग मागेको तर गर्न नसक्ने जवाफ फर्काएको’ उल्लेख गरेका थिए ।।
‘दुई तिहाइको दुहाइ दिने सरकारले अध्यादेशबाट शासन गर्न खोजेको छ । संविधान संशोधनको सहमति गर्दा दुई तिहाइ छ भनेर हामीलाई बाइपास गर्न खोजियो । राष्ट्रिय सभामा बहुमत नभएपछि अहिले सत्तारूढ दलका साथीहरू हारगुहार गर्दै हुनुहुन्छ,’ पुनले भने, ‘अस्तिसम्म हामीसँग दुई तिहाइ छ भनेर धाक लगाउँदै हिँड्नुभएको थियो । दुईदलीय व्यवस्थामा लान्छौँ भन्ने हुंकार पनि गर्नुहुन्थ्यो । अहिले सहयोग गर्नुहोस् भनेर अनुरोध गर्ने ठाउँमा पुग्नुभएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया