काठमाडौं । माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले अध्यक्ष प्रचण्डप्रति जवाफ फर्काउँदै समस्या विद्यार्थी नेतृत्वमा नभएर केन्द्रीय नेतृत्वमै भएको आरोप लगाएका छन् । आइतबार फेसबुकमा एक स्टाटस लेख्दै नेता न्यौपानेले टाउको दुखेको औषधी नाइटोमा लगाएर निको नहुने बताएका हुन् ।
शनिवार मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्व विद्यार्थी नेता लेखनाथ न्यौपाने लगायतका नाम नै लिएर विद्यार्थी नहुने तर विद्यार्थी नेता भइरहने समस्याले विद्यार्थी राजनीति राम्रो नभएको र ३२ वर्षे उमेर हद हटाएपछि सबै समस्या समाधान भएको बताएका थिए । लामो समय एकै व्यक्ति विद्यार्थी राजनीतिको केन्द्रमा बस्दा विद्यार्थी आन्दोलन कमजोर भएको भन्दै माओवादी केन्द्रको विद्यार्थी संगठनमा ३२ वर्षको उमेर हद लगाएपछि अब समस्या समाधान हुने प्रचण्डको अभिव्यक्ति थियो ।
त्यसको जवाफ दिँदै नेता न्यौपानेले आफू रहरले नभएर बाध्यताले दोस्रो कार्याकाल पनि विद्यार्थी संगठनको अध्यक्ष बन्नुपरेको, विश्वविद्यालयमा पढेर नै राजनीति गरेको र तेश्रो कार्याकालका लागि आग्रह हुँदासमेत अस्वीकार गरी नेतृत्व हस्तान्तरण गरेको स्पष्टीकरण दिएका छन् ।
उनले आफूले मागेर नभई पार्टी बाटै जिम्मेवारी दिइएको, माओवादी नेताहरु शहरमा राजनीतिमा देखिन नचाहँदा आफू मृत्युलाई स्वीकार गरेर शहरको राजनीतिमा आएको लगायतका कुरा स्मरण गराउँदै टाउको दुखेको औषधी नाइटोमा लगाएर समस्या समाधान नहुने व्यङ्ग्य गरेका हुन् । न्यौपानेले प्रचण्डप्रति व्यङ्ग्य गर्दै समस्या नेतृत्वमा रहेको तर विद्यार्थी संगठनलाई दोष थुपारिएको भन्दै समस्या जहाँ हो, त्यहीँबाट हल खोज्नुपर्ने सुझावसमेत दिएका छन् ।
सामाजिक सञ्जालमा न्यौपानेले लेखेका छन् :
कमरेड प्रचण्डले हिजो मलगायत अन्य ४/५ जना साथीहरूको नामै लिएर विद्यार्थी नहुने तर विद्यार्थी नेता भइरहने समस्या थियो, अब हल भयो भन्नुभयो । उहाँले सार्वजनिक कार्यक्रममा बोलेको हुनाले यसबारे सार्वजनिक रुपमै केही भन्नुपर्ने भयो ।
१) कानुनी रुपमा अहिले प्रयोगमा आएको ३२ वर्षे उमेरहदभन्दा अगाडि नै अध्यक्षको जिम्मा पाइसकेको थिएँ मैले, ३२ वर्ष वरिपरिमा त दोस्रो कार्यकालको जिम्मा शुरुआत भइसकेको थियो र विश्वविद्यालय पढेरै आएको हो हामीहरु ।
२) म पहिलोपटक अध्यक्ष बन्ने निर्णय ०५९ को अन्त्यतिर सम्पन्न पार्टीको रोल्पा बैठकले गरेको थियो, त्यतिबेला म मकवानपुरको चुरे क्षेत्रतिर पार्टी काममा थिए । मलाई अध्यक्ष बनाउनु पर्यो भन्ने न हाम्रो संस्कृति थियो, न हामीलाई त्यो मौका नै । अध्यक्ष बनाको उहाँहरुले नै होला ? दोस्रोपटक अध्यक्ष हुँदा पनि मैले मै दोहोरिन्छु भनेर कहिल्यै कसैलाई भनिएन, खुल्ला परिवेशमा स्थापित नेतृत्व आवश्यक भनेर उहाँहरुले नै निर्णय गर्नुभएको हो । गज्जब त के भने तेस्रो पटक पनि तपाईँ नै अध्यक्ष बन्नुपर्याे भन्ने उहाँको जोड थियो । योग्य साथीहरू धेरै तल जाममा परिरहनुभएको छ, मैले गर्ने योगदान गरिसकें पुनः त्यही जिम्मा लिँदा योगदानको निरन्तरता वा ओरालो परिणाम मात्र हुन्छ । यसले विद्यार्थी आन्दोलन र विद्यार्थी साथीहरूलाई राम्रो पर्दैन । त्यसकारण यो हुनै सक्दैन भन्नै मै हुँ ।
३) जनयुद्धको समयमा शहरिया आन्दोलन जोखिमको विषय थियो, जसमा विद्यार्थी संगठन अग्रभागीय मोर्चा भन्ने पार्टी लाइन पार्टीले नै बनाको होला । अर्काेतिर क्याम्पस क्याम्पसबाट पूर्णकालीन कार्यकर्ता उत्पादन गरेर सैन्य मोर्चामा पठाउनु पर्ने योजना । यसअन्तर्गत कैयौं साथीहरू सहिद–वेपत्ता बन्नुभयो । हामी दर्जनौ पटक हिरासत, यातना, अपाङ्गता र लामो जेलजीवन बिताएर आएको इतिहास । पार्टीको निर्णय/आदेशप्रति न प्रश्न उठाइयो, न इन्कार नै । हामी गलत कसरी भइयो ?
४) एउटा विषय दावाका साथ भन्न सकिन्छ कि शैक्षिक आन्दोलन, संगठन परिचालन एवं यसले जनयुद्ध र त्यसपछिको परिवेशमा त्यतिबेलाको विद्यार्थी आन्दोलनले पुर्याएको योगदान र निर्माण गरेको मानक सामान्य थिएन, विशिष्ट थियो ।
५) टाउको दुखेको ओखती नाइटोमा लगाएर समस्या हल हुँदैन है अध्यक्ष कमरेड !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया