काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रवासमा रहने सदस्यहरूका लागि अनलाइन मतदानको व्यवस्था गरिने भएको छ । शनिबार काठमाडौंमा प्रथम राष्ट्रिय महाधिवेशनका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीकी नेतृ हिसिला यमीले यस्तो जानकारी दिएकी हुन् ।
उनले भारतमा रहने प्रवासी सदस्यहरूलाई अनलाइनबाट मतदान गर्न पाउने व्यवस्था गरिएको बताइन् । अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिस्पर्धाको आधारमा छनोट हुने र उपाध्यक्ष समूहगत प्रतिस्पर्धाको आधारमा चयन हुने उनले बताइन् । त्यस्तै सचिवमा महिलालाई प्राथमिकता दिएर जाने र बाँकीलाई फ्री इलेक्शनको माध्यमबाट चयन गर्ने बताइन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता कृष्ण शर्माले राजनीतिक समस्या मात्र नभई समाधान पनि भएको बताए । उनले अहिले पुराना राजनीतिक दलहरूले समस्या मात्रै उजागर गर्ने गरेको, जनताको भावनालाई समातेर सत्तामा जाने र सत्ताकोदोहन गर्ने काम गरिरहेको आरोप लगाए ।
पार्टीले स्थानीय निकायलाई मुख्य आधार मानेको बताउँदै ७५३ मध्ये ५१२ स्थानीय निकायबाट प्रतिनिधित्व भएको बताए । ३१ हजार पार्टी सदस्यहरू, त्यहाँबाट निर्वाचित भएका १ हजार ५ सय प्रतिनिधिहरू काठमाडौं आइसकेको जानकारी दिए । पुराना शक्तिहरूलाई पार्टीको महाधिवेशनमा नबोलाइएको बताए । उनले पार्टीका नेताहरू आफैँ आत्मनिर्भर हुने, स्वायत्त र स्वचालित ढंगका पार्टीका नियकाहरु हुने उल्लेख गरे । शक्ति पृथकीकरणको सिद्धान्तलाई पार्टीभित्र अपनाउने बताए ।
पार्टीको महाधिवेशन नेपालको राजनीतिक प्रणालीलाई पुनःसंरचना गर्ने र नेपालको राष्ट्रिय राजनीतिक नयाँ दिशामा मार्ग प्रशस्त गर्ने वैकल्पिक राजनीतिक धार भएको उनको भनाइ छ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशन माघ २७ गतेदेखि सुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया