प्रचण्ड भन्छन्– ‘कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको यात्रा अघि बढाउनुपर्छ’

लोकपथ
35
Shares

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि उत्पादन वृद्धिसँगै कृषिमा आधारित औद्योगिकीकरणको नीति अवलम्बन गरिनुपर्नेमा जोड दिएका छन्  । 

अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र)को केन्द्रीय समितिको आज आयोजित तेस्रो पूर्ण बैठकमा उनले स्थानीय तहदेखि नै कृषि उत्पादनमा वृद्धि र औद्योगिकीकरणको बाटो समात्नुपर्ने बताए ।

‘कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको यात्रा अघि बढाउनुपर्छ, ‘अध्यक्ष दाहालले भने,‘स्थानीय उत्पादनको वृद्धि र प्रशोधन तथा साना उद्योगको स्थापनामार्फत रोजगारी बढाउनेतर्फ केन्द्रित हुनुपर्छ ।’ त्यसका लागि आफ्नो पार्टीबाट जितेका स्थानीय सरकारका प्रतिनिधिलाई भेला गरेर समाजवादको अभ्याससम्बन्धी प्रशिक्षणको व्यवस्था गरिएको उनले बताए ।

चालु आर्थिक वर्षको बजेट बनाउँदा आफूहरूले कृषिलाई आधार र सूचना प्रविधिलाई अर्थतन्त्रको मेरुदण्ड मानेर तदनुरुप कार्यक्रम बनाएको  तर वर्तमान सरकारले सो बजेटलाई तोडमोड गरेको आरोप लगाए । बैठकमा महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले महासंघको वार्षिक प्रतिवेदन पेस गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?