१०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिको निर्देशन

लोकपथ
63
Shares

काठमाडौं । कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिले निर्देशन दिएको छ । 

शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले १०औँ राष्ट्रिय खेलकुद तोकिएको समयभित्रै सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो । 

समितिको बैठकको निर्णय सुनाउँदै समिति सभापति अम्मरबहादुर थापाले तोकिएको समयभित्रै १०औँ राष्ट्रिय खेलकुद सम्पन्न गर्ने गरी आवश्यक काम सुरु गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिए । त्यसका लागि द्रुत स्तरमा काम गर्न आग्रह गरे । 

उनले भने, ‘हाम्रो समितिको चाहना समयमै खेलकुद होस् भन्ने हो । समयमा खेलकुद गर्न कसरी फास्टट्रयाकमा जान्छ, खेलकुद मन्त्रालय, अर्थ मन्त्रालयलाई विशेष बढी प्रेसर हुनेछ । यसका फास्टट्रयाकमा जाने विधि र प्रक्रिया के हुन् । अर्थ मन्त्रालयबाटै खोलेर २३ गते नै सक्ने गरी काम गर्नुपर्छ । तोकिएकै समयमा १०औँ राष्ट्रिय खेलकुद गर्न फास्टट्रयाकमा जानुहोला । कसरी हुन्छ त्यो व्यवस्था मिलाउनुस् ।’

गत मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा १०औँ राष्ट्रिय खेलकुदको आयोजना मिति तोकिएको थियो । तोकिएको समयमा भौतिक पूर्वाधारहरू निर्माण गर्न नसक्दा सरकारले चैत्र २३ गतेबाट गर्ने घोषणा गरिएको थियो । पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदबाट १०औँ राष्ट्रिय खेलकुद कर्णालीले गर्ने गरी झण्डा हस्तान्तरण गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?