काठमाडौं । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले सर्वसाधारण जनतालाई नेपाल विद्युत् प्राधिकरणको शेयर जारी गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद केसीले बिहीबारको संसद् बैठकको शून्य समयमा बोल्दै यो विषयमा जोड दिएका हुन् ।
उनले शून्य समयमा बोलेका विषय यस्ता छन्–
नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारण जनतालाई शेयर जारी गर्नु पर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि विगत ४० वर्षदेखि यसको कार्यान्वयन हुन सकेन । शेयर जारी भएन । देश विदेशमा रहेका इच्छुक आम नेपाली जनतालाई विद्युत् क्षेत्रमा लगानी गर्ने अवसरबाट वञ्चित गरियो ।
राष्ट्रिय श्रोत परिचालन गर्न तत्काल सरकार यतातिर गम्भीर बनोस् र कानुनमा उल्लेखित प्रावधानअनुसार प्राधिकरणको शेयर जारी गरी प्राधिकरणलाई राष्ट्रिय आर्थिक श्रोत परिचालनमा अझ बढी सशक्त आत्मनिर्भर बनाउन ढिला नगरोस् ।
प्राधिकरण विगत केही वर्षदेखि लगातार नाफामा आएको छ । हाल गरेको सम्पत्तिको मूल्याङ्कनअनुसार सात खर्ब रुपैयाँ भन्दा बढी सम्पत्ति रहेको प्राधिकरणको २० प्रतिशत मात्र शेयर जारी गर्दा डेढ खर्बभन्दा बढी रकम जनताको लगानी आउनेछ । यसरी संकलन भएको रकमलाई ठूला, मझौला जलविद्युत तथा प्रसारण लाइन आयोजनाहरूमा देशलाई आन्तरिक स्रोत र साधनले नै अग्रगति दिने र यस क्षेत्रमा ऋण भार काम गर्न सकिने छ ।
शेयर जारी गर्दा प्राधिकरणको शेयर संरचनामा परिवर्तन हुनुका साथै सरकारको जोखिम तथा दायित्व कम हुने, सञ्चालक समितिमा शेयर धनीको प्रतिनिधित्व हुने भएकोले उत्तरदायित्व, पारदर्शिता, स्वायत्तता र सुशासनमा अभिवृद्धि हुने छ ।
देशभित्रको लगानीलाई बढीभन्दा बढी परिचालन गर्न सरकारले ऐनले व्यवस्था गरेको यो योजना तत्काल ल्याउन जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया