काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिहीबार संघले ललितपुरमा पत्रकार सम्मेलन गर्दै १९ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष शिव घिमिरेले नेपालमा ५९ उद्योगहरू सञ्चालन रहेको बताए ।
उनले नेपालमा विस्फोटक ऐन कानुन र नियमन निकाय नहुँदा भारतको ऐन नियमअनुसार भारतबाटै ईजाजत लिई उद्योग सञ्चालन गर्नुपरेको बताए । उनले नेपाली ढुवानी साधन नहुँदा वार्षिक खबौं रुपैयाँ विदेशीएको बताए ।
उनले एकतर्फी ढंगबाट लगानीको सरक्षणको सट्टा निरुत्साहित गर्ने सरकारको रणनीति रही रहेमा उद्योग संचालनलाई निरन्तरता दिन नसक्ने बताए । संघले माघ ३० गते बुधवारदेखि देशभरका ५९ वटै एलपी ग्यास उद्योगहरूले नेपाल आयल निगम बाट प्रोडक्ट डेलिभरी अडर (पीडीओ) खरिद नगर्ने नगराउने बताए ।
उनले फाल्गुण १ गते बिहिबार देखि २०८१ फाल्गुण ५ गते सोमबारसम्म सबै ग्यास उद्योगहरूले विरोधका कार्यक्रमहरूबारे स्थानीय सबै संघ संस्था सञ्चार माध्यमहरूमार्फत र केन्द्रमा नेपाल एलपी ग्यास उद्योग संघले प्रचारप्रसार गर्ने बताए ।
उनले फाल्गुण ६ गते मंगलबारदेखि भारतको इण्डियन आयलका नेपालका लागि लोड हुने एलपी ग्यासको ग्यास बुलेट कुनै पनि लोड नगर्ने नगराउने उल्लेख गरे । फाल्गुण १२ गते सोमबारदेखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्यास बुलेटहरू कुनै पनि भन्सार नाका बाट नछुटाउने बताए ।
फागुन १८ गते आइतबारदेखि सबै नेपालका ५९ उद्योगहरू जायज मागहरू सम्बोधन नभएमा अनिश्चित कालिन बन्द गर्ने घोषणा गरे ।
उनले नेपाल सरकारले ग्यास प्रयोगको सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने माग गरे । एलपी ग्यास दुर्घटना रोक्न, कमसल पाइप तथा रेगुलेटर प्रयोगमा कडाइ गर्न, र सुरक्षासम्बन्धी नियम पालना गराउन कानुनी व्यवस्था लागू गरिनुपर्ने माग राखे ।
विगत ६ वर्ष देखि डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च वृद्धि नभएकोले तत्कालै वृद्धि हुनुपर्ने र हरेक वर्ष मुद्रास्फिती दरअनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया