काठमाडौं । गत साउनयता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अलि फुर्सदिला छन् । प्रतिपक्षको कुर्सीमा रहनुपर्दा सरकार पक्षको जति जिम्मेवारी हुँदैन । जसकारण सरकारको नेतृत्वबाट बाहिरिएपछि पाएको फुर्सदलाई प्रचण्डले देशका विभिन्न ठाउँमा पुगेर जनतासँग भेट्ने काममा उपयोग गरिरहेका छन् ।
हिजोआजका दिनहरूमा प्रचण्ड कहिले कहाँ कहिले कहाँ पुग्छन् । जहाँ पुग्छन्, सरकारमाथि तितो पोख्छन्, सरकारको आयुबारे कटाक्ष गर्छन् । निर्वाचनपिच्छे पार्टी खुम्चिँदै ३२ सिटमा आइपुगे पनि मञ्चबाट तल देखिएको मानिसहरूको भीड देखेपछि प्रचण्डलाई लाग्दो हो पार्टी अब ०६४ को अवस्थामा फर्कियो ।
सरकारले गरेको कामप्रति असन्तुष्टि जनाउँदै माओवादीले थालेको खबरदारी सभामा भाग लिन प्रचण्ड देशका विभिन्न भाग पुगिरहेका छन् । यो समाचार तयार पार्दा प्रचण्ड गण्डकी प्रदेशका जिल्लाहरूको भ्रमणमा छन् । केही समय अघि पूर्वी पहाडी जिल्ला तेह्रथुम हुँदै विभिन्न जिल्ला पुगेका थिए ।
कहिले रिफ्रेसमेन्टका लागि सुकुटे त कहिले शहीदको घरमा पुगेर प्रचण्डले आफ्ना दिनहरू बिताइरहेका छन् । प्रचण्ड जहाँ जान्छन् त्यहाँ मानिसहरूको बाक्लो उपस्थिति रहन्छ । प्रायः शहीदका घरमै खाना खाने, बस्ने र गफ गर्ने गरेका प्रचण्डका ती कुराहरूको सामाजिक सञ्जालमा आलोचना र प्रशंसा दुवै हुने गरेको छ ।
उमेरले ७० पुग्नै लाग्दा पनि सक्रियतालाई उनको शारीरिक कसरतले तन्दुरुस्त जस्तो देखाएको छ । प्रचण्ड जहाँ पुग्छन् त्यहाँ बिहान ‘मर्निङ वाक’ गरेकै हुन्छन् । उनको सचिवालयबाट बाहिरिने तस्बिर तथा भिडियोमा प्रचण्ड दलबलसहित हिँड्ने गर्छन् ।

नेपालको सुरक्षा चुनौती रहेको नेतामध्ये पहिलो नम्बरमा पर्छन् प्रचण्ड । सोही कुरा महसुस भएर पनि होला उनी प्रायः सुरक्षाको आन्तरिक तयारीका साथ निस्किने गर्दछन् । प्रचण्डको ‘मर्निङ वाक’ रोचक देखिन्छ । दायाँबायाँ नेपाल प्रहरीदेखि सशस्त्र प्रहरीका सुरक्षाकर्मी, अघिपछि कार्यकर्ताहरू हुन्छन् ।
पछिल्लो समय नेतामाथि आक्रोश बढ्दो छ । त्यसमाथि १० वर्षे सशस्त्र क्रान्तिको नेतृत्व गरेर आएका कारण प्रचण्डमाथि थप सुरक्षाको चुनौती हुने नै भयो । यसअघि विभिन्न सार्वजनिक कार्यक्रममा नै प्रचण्डमाथि हातपातसमेत भएका थिए । जसकारण पनि उनी आफ्नो मर्निङ वाकमा समेत बाक्लो मात्रामा सुरक्षाकर्मी र सुरक्षाको प्रत्याभूति गराउन कार्यकर्ताहरूबाट घेरिएर मर्निङ वाक गर्ने गरेको टिप्पणी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया