स्कारपियो दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते

लोकपथ
301
Shares

बाजुरा ।  स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा आज दिउँसो स्कारपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा मार्तडी कोल्टी सडक खण्डमा पर्ने अपी होटेल नजिकै सुपप्र ०१ ००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

घटनास्थलमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया गायत्री पन्तको र उपचारका क्रममा सोही जिल्ला भीमदत्त–१८ की  राधिका भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

दुर्घटनामा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका कार्यालय सहयोग गौमुल गाउँपालिका–४ बस्ने २५ वर्षीय रमेश धामी, कञ्चनपुरको कृष्णपुर–५ गुलरियाका मोहनदेव भट्ट र भीमदत्त–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त घाइते भएका उनले बताए ।  

 प्रहरीका अनुसार  घटनामा परेर मृत्यु भएकाको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ । घटनामा परी घाइते भएका तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?