काठमाडौं । ‘हिंसा’ शब्दले आज पनि प्रतिनिधि सभा बैठकमा तनावको स्थिति सिर्जना भएको छ ।
सभामुख देवराज घिमिरेले यसअघि एमाले सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द असंसदीय नरहेको भन्दै त्यसलाई रेकर्डबाट हटाउनु नपर्ने जानकारी गराएका थिए ।
११ गतको प्रतिनिधि सभा बैठकमा सांसद भट्टराईले माओवादी हिंसाको कारण देशमा विद्युत उत्पादन प्रयाप्त मात्रामा हुन नसकेको भन्दै कटाक्ष गरेका थिए । त्यसपछि सोही दिन नै उक्त शब्द असंसदीय रहेको भन्दै माओवादी सांसदहरुले रेकर्डबाट हटाउन माग गरे । माओवादी सांसदहरुले उक्त शब्द रेकर्डबाट हटाउन माग गर्दै संसद् सचिवालयको ध्यानाकर्षण गराए ।
गत भदौ २१ गते बसेको संसद्को परामर्श समितिको बैठकले पनि उक्त शब्द असंशसदीय नरहेको निष्कर्ष निकालेको भन्दै आजको बैठकमा सभामुखले सो विषय सदनलाई जानकारी गराएपछि माओवादी सांसदहरुले आपत्ति जनाए । बैठकमा माओवादी प्रमुख सचेकत हितराज पाण्डेले पटकपटक उक्त शब्दावली ल्याएर संविधानको बर्खिलाप गरेको र आन्दोलनलाई होच्याउन खोजेको भन्दै आपत्ति जनाए ।
बहस त्यतिकैमा रोकिएन । यता सत्ता पक्षबाट एमाले सांसद रघुजी पन्तले हिंसा शब्द कैयौँ पटक संसद्मा प्रयोग हुँदै आएको जानकारी गराउँदै यसअघि आफ्नो दललाई पनि सो आरोप लाग्ने गरेको र आफूहरुले त्यसमा आपत्ति नजनाएको बताए । २०२८ सालको झापा आन्दोलनलाई लिएर ०४७ को संविधान बनेपछि निरन्तर संसद्मा एमालेमाथि प्रश्न उठ्ने गरे पनि आफूहरुले त्यसलाई सहज रुपमा लिएको भन्दै त्यसलाई अहिले आपत्ति मान्नुनपर्ने जानकारी गराए । तर त्यसपछि पुनः माओवादीका सांसदहरुले बैठकमा अवरोध खडा गरेपछि माओवादी सचिव समेत रहेका सांसद देबेन्द्र पौडेलले शान्ति प्रक्रियाको बाँकी काम टुंगिन लागेका बेला पुनः त्यसलाई भाड्ने गतिविधि सत्तापक्षबाट भइरहेको भन्दै आपत्ति जनाए । साथै संविधान भन्दा माथि कोही पनि नरहेको भन्दै आगामी दिनमा त्यस्ता शब्दमा ख्याल गर्न आग्रह गरे ।
यता एमाले सांसदहरुले पनि आक्रोश व्यक्त गरेपछि संसद्मा सत्ता र प्रतिपक्ष सांसदहरुबीच जुहारी चलेको छ । सोही क्रममा बोलेका एमाले प्रमुख सचेतक महेश बर्तौलाले सभामुखले रुलिङ गरिसकेपछि पुनः सभामुखमाथि नै आक्षेप लगाउने किसिमको गतिविधि भएको भन्दै कटाक्ष गरे ।
सभामुख घिमिरेले पटकपटक शान्त रहन आग्रह गर्दा पनि आ–आफ्नो कुर्सीबाट एकअर्कासँग बाझाबाझ गरिरहेका छन् । जसकारण संसद्को नियमित कामकारबाहीमा समेत असर परेको छ ।
दुवै पक्षले आ–आफ्नो अडान नछाडेपछि आगामी भदौ ३० गते आइतबारसम्मका लागि बैठक स्थगित गरिएको छ । दुवै पक्षको होहल्लापछि सभामुख घिमिरले भदौ ३० गतेसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया