काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार साँझ ५ बजे बस्नेगरी संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न बैठक डाकिएको स्रोतले जनाएको छ । न्याय परिषद्ले यही भदौ २० गते ८ न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको थियो । सो सूचीमाथि छलफल गर्न बैठक बोलाइएको हो ।
न्यायपरिषद्ले सिफारिस गरेका ८ जनामध्येबाट एक जनालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने हुन्छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट अवकाश पाउँदैछन् । संविधानमा बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ ।
नेपालको संविधानमा संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ ।
त्यसैगरी सदस्यहरुमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख परिषद्का सदस्य रहने संवैधानिक व्यवस्था छ ।
आजको बैठकमा विपक्षी दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपभामुख इन्दिरा राना उपस्थित हुनेमा शंका व्यक्त गरिएको छ ।
प्रचण्ड पार्टी बैठक र प्रशिक्षणको लागि यतिबेला मधेसमा छन् भने उपसभामुख रानालाई सत्तारुढ कांग्रेस र एमालेले पदबाट हटाउने तयारी गरिरहेका छन् ।
उनलाई राजीनामा दिन सत्तारुढ दलले आग्रह गरिसकेको अवस्था छ । सत्तारुढ दलले उनले राजीनामा नदिए अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीसमेत गरिसकेको छ । विपक्षी दल माओवादी र रास्वपा भने सत्तारुढ दलको तयारीको प्रतिवादमा उत्रेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया