काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपा एमालेका कुनै पनि बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यले साथ दिएसम्म कुनै पनि पार्टीको बैठक बालुवाटारमा नराख्ने बताए ।
‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु,’ उनले भनेका छन् ।
त्यस्तै आज पार्टीको सचिवालय बैठक बोलाइएको भए पनि पार्टी कार्यालय च्यासल डुवानमा परेका कारण बैठक अन्यत्र राखिएको समेत जानकारी गराए ।
‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ,’ उनले भने ।
यसअघि प्रधानमन्त्री बनेका बेला ओलीदेखि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत पार्टीका बैठक बालुवाटारमा राख्ने गरेका थिए । सरकारी निवासमा पार्टीका बैठक राखेको भन्दै आलोचना भएपछि ओलीले आफूले पार्टीको बैठक बालुवाटारमा नराख्ने बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया