काठमाडौं । १७ वर्षअघि नेपाल कमर्श क्याम्पस मीनभवनका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ निवासी ३९ वर्षीय रञ्जन खड्का रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट पक्राउ गरिएको पत्रकार सम्मेलन मार्फत् प्रहरीले जनाएको छ ।
यद्यपि नेपाल प्रहरीले भारतबाट नै पक्राउ गरी उनलाई नेपाल ल्याएको स्रोतले बताएको छ । हत्यापछि भारतमा लुकेर बसेका ती व्यक्तिलाई अपराध महाशाखाको टोलीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याएको हो । प्राध्यापन पेशामा संलग्न विष्टको २०६४ साल असार २६ गते ललितपुर उपनगरपालिका–२२ (हाल ललितपुर महानगरपालिका–२२ शंखमुल) मा हत्या भएको थियो ।
अनुसन्धानका क्रममा उनको हत्या नेपाल कमर्श क्याम्पसमै स्नातक तहमा अध्ययनरत विद्यार्थी सोभिता थापा भन्ने साविता थापा (अधिकारी) को योजनामा भएको खुलेको थियो । आफूलाई जिस्काएको निहुँमा उनले यो घटना गराएका थिए ।
धादिङको साविक बुढाथुम गाविस–३ (हाल गंगा जमुना गाउँपालिका–७) घर भई ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सोभिताको योजनामा उनका सहोदर भाइ विनोद थापा, रञ्जन खड्का र भक्तपुर लोकन्थली बस्ने राजीव पाण्डेसहितको समुहले उनको हत्या गरेको खुलेको थियो । क्याम्पसमा सोभितालाई विष्टले जिस्क्याएपछि विवादसमेत सिर्जना भएको थियो ।
थापाले यो कुरा आफ्ना भाइ विनोदलाई भनेको र विनोदले मिल्ने साथीहरू रञ्जन खड्का र राजीव पाण्डेलाई उक्त कुरा बताएर विष्टको हत्या योजना बनाएको खुलेको थियो । हत्या योजना अनुसार प्राध्यापक विष्टलाई शंखमुलमा बोलाएर रडले हानेर गम्भीर घाइते बनाएका थिए । रड र इट्टा प्रहार गरी घाइते बनाइ बेहोस अवस्थामा छाडी उनीहरु फरार रहेका थिए । विष्टको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो ।
सोभितालाई प्रहरीले ६ चैत २०८० मा पक्राउ गरी जेल पठाएको थियो । थापालाई ढोलाहिटीस्थित उनकै घरबाट पक्राउ गरिएको थियो । १६ वर्षसम्म सोभिता ललितपुरस्थित आफ्नै घरमा बस्दै आएकी थिइन् । उनका श्रीमान् भने भारतीय सेनामा कार्यरत छन् । सोभिताका भाइ विनोद थापा भने २०७१ पुस ३ गते लागूऔषध मुद्दामा पक्राउ परेका थिए ।
पक्राउ गरिएकै अवस्थामा हत्या आरोपमा समेत उनी दोषी पाइएको थियो । त्यसपछि कर्तव्य ज्यानको समेत सजाय काटेर उनी २०७९ असोजमा बाँकी कैद माफी पाएर रिहा भएका थिए । घटनामा संलग्न अर्का प्रतिवादी भक्तपुर लोकन्थलीका राजीव पाण्डे २१ वैशाख २०६९ मा पक्राउ परेर १५ जेठ २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भएको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया