वालुवाटारको जग्गा फिर्ता ल्याएर मात्रै हुँदैन, दोषीलाई कारबाही पनि गर्नुपर्छः भीम रावल

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले वालुवाटारलगायत देशभरका सार्वजनिक जग्गा हिनामिना भएको विषयमा निष्पक्ष छानविन गर्न माग गरेका छन् ।  

आफ्नै पार्टीका महासचिव विष्णु पौडेलसमेत मुछिएको वालुवाटारस्थित ललिता निवासको जग्गाको पनि सत्य तथ्य छानविन गरेर दोषीलाई कारबाही गर्न रावलले माग गरे ।

 राजधानीमा सोमबार आयोजित कार्यक्रममा रावलले आफू गृहमन्त्री हुँदा उक्त जग्गाबारे कुनै पनि औपचारिक प्रस्ताव र छलफल नभएको पनि स्पष्ट पारे ।
उक्त जग्गा सरकारले फिर्ता ल्याउने निर्णय गरेकोमा धन्यवाद दिँदै रावलले फिर्ता ल्याएर मात्रै नहुने, दोषीलाई कानुनी दायरमा नै ल्याउनुपर्ने बताए ।

जग्गा प्रकरणबारे सरकारले गरेको छानविन सत्यतथ्य हुनुपर्ने रावलको भनाई थियो । “वालुवाटार जस्तो संवेदनशील स्थानको जग्गा व्यक्तिको नाममा जानु आपत्तिजनक छ । सत्य तथ्य पहिचान गरेर दोषीलाई कारबाही गर्नुपर्छ । अब सरकारको छानविनको निष्कर्ष पर्खौँ ।” नेता रावलले भने ।

फरक प्रसंगमा नेता रावलले पार्टी विधानअनुसार चल्न नसकेको गुनासो पनि गरे । स्थायी कमिटिको बैठक हरेक ३–३ महिनामा बस्नुपर्ने भए पनि त्यसो नगरिको रावलले बताए । बैठक नबस्दा सरकारले गरेका कामको समीक्षा पनि हुन नसकेको उनको भनाई थियो । सरकारले गरेका काम जनअपेक्षाअनुसार नभइरहेको बेला पार्टीभित्रको बहर र समीक्षा अत्यन्त जरुरी रहेको रावलले बताए ।

पार्टी एकता प्रक्रियाका क्रममा आएका असन्तुष्टीलाई आन्तरिक रुपमा समाधान गरिने पनि रावलले बताए । भातृ संगठन एकतामा गरिएको जिम्मेवारी बाँडफाँटमा असन्तुष्टी आउनु स्वभाविक भएको तर समधान खोजिने रावलको भनाई थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?