१ अर्बको धितोमा २ अर्ब ऋण प्रवाह : सेञ्चुरी बैंकका तत्कालीन सिइओ र कर्मचारी पक्राउ

लोकपथ
6.7k
Shares

कमिसन लिएर देउराली सहकारीलाई २ अर्ब ऋण

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रभु बैंकका डेपुटी सिइओसहित १० जनालाई पक्राउ गरेको छ । कमिसन लिई ऋण प्रवाह गरेको भन्दै सिआइबीले उनीहरुलाई पक्राउ गरेको हो ।

देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईको डिजाइन र मिलेमतोमा १ अर्बको सम्पत्ति धितो राखी २ अर्बको ऋण प्रवाह गरेको पाइएपछि सिआइबीले दुई पूर्व सिइओसहित १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा साविकको सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन सिइओ तुलसीराम गौतम र मनोज न्यौपाने। तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी तथा कर्मचारीहरु सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सुनिल बस्नेत, दिलिप बराल, दिपेश प्रधान र रमन श्रेष्ठ रहेका छन्र । घोटालामा संलग्न अर्का एकजना पक्राउ पर्न बाँकी रहेको छ ।

साविकको सेञ्चुरी बैंकका सिइओ र कर्मचारीको मिलेमतोमा देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाइले १ अर्ब १२ करोड ४५ लाख रुपैयाँको सम्पत्ति धितो राखी २ अर्ब ११ करोड ऋण लिएका थिए । हाल देउराली सहकारी समस्याग्रस्त सहकारी बनेको छ भने बैंकको ऋणसमेत चुक्ता भएको छैन । धितोमा राखेको सम्पत्ति लिलाम गर्न खोज्दा बल्ल दिइएको ऋणभन्दा धितोको मूल्यांकन आधा कम भएको पत्ता लागेको हो ।

पक्राउ परेकामध्ये तुलसीराम गौतम जुलाई २०२१ मा साविकको सेञ्चुरी बैंकबाट राजीनामा दिई विदा भएका थिए भने अप्रिल २०२२ मा मनोज न्यौपाने बैंकको सिइओमा नियुक्त भएका थिए । त्यसपछि सन् २०२३ को जनवरीमा सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंक मर्ज भएर प्रभु बैंकका नाममा एकीकृत कारोबार सुरु गरेको थियो ।

१३ अर्ब ५३ करोड चुक्ता पुँजी रहेको प्रभु बैंकले १० अर्ब चुक्ता पुँजी रहेको सेञ्चुरी कमर्सियल बैंकलाई आफूमा गाभेको थियो । १० अर्बको बैंकमध्ये २ अर्ब ११ करोड रुपैयाँ रुपैयाँ समस्याग्रस्त देउराली सहकारीसँग सम्बन्धित रविन्द्र चौलागाई तथा उनको कम्पनीहरुलाई ऋण दिइएको थियो । धितोमा राखिएको सम्पत्ति जफत गर्दा पनि १ अर्ब १२ करोड रुपैयाँ मात्रै आउने भएपछि राष्ट्र बैंकले प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरेको हो । तत्कालीन सेञ्चुरी बैंकका सिइओ तथा कर्मचारीहरुले सहकारी तथा सञ्चालक रविन्द्र चौलागाईसँग कमिसन लिई धितोभन्दा दुईगुणा बढी ऋण प्रवाह गरिएको कसुरमा उनीहरुलाई पक्राउ गरिएको हो ।

कुन कम्पनीलाई कति ऋण ?

तत्कालीन सेञ्चुरी बैंकले पूजा ट्रेडिङ एण्ड मार्केटिङ प्रालिको नाममा ८३ करोड ५० लाख, थ्रि ब्रदर्स मार्केटिङका नाममा ४९ करोड ५० लाख, पूजा मार्केटिङको नाममा ५४ करोड, रविन्द्र चौलागाईकै नाममा ५ करोड र अन्नपूर्ण डिस्टीलरीको नाममा १९ करोड ६५ लाख ५५ हजार रुपैयाँ गरी कुल २ अर्ब ११ करोड ६५ लाख, ५५ हजार रुपैयाँ ऋण लगानी भएको छ ।

तर २ अर्ब ११ करोड ऋण लिन राखिएको सम्पत्तिको धितो भने मात्रै १ अर्ब १२ करोड ४५ लाख ९४ हजार रुपैयाँको मात्रै छ । यसरी हेर्दा बैंकले धितोमा रहेको सम्पत्ति लिलाम गर्दा पनि ९९ करोड १९ लाख रुपैयाँको धितो पुग्दैन र उक्त रकम बैंकलाई घाटा लाग्छ ।

सेञ्चुरी बैंकले ठूलो रकमको ऋण प्रवाह गर्दा सिइओसहित कम्तीमा तीन जनाको हस्ताक्षर अनिवार्य हुनुपर्नेमा अधिकांश ऋणमा सिइओ र अन्य एक कर्मचारीको मात्रै हस्ताक्षर गरी ऋण प्रवाह भएको समेत पाइएको छ । सो घोटालाको सम्बन्धमा नेपाल राष्ट्र बैंक र केन्द्रीय अनुसन्धान ब्यूरोले समेत अनुसन्धान गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?