टीकापुर जग्गा घोटाला प्रकरण : तत्कालीन कार्यालय प्रमुख स्नेही र नासु शाहीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

लोकपथ
203
Shares

काठमाडौं । टीकापुरको सरकारी जग्गा व्यक्तिविशेषको नाममा दर्ता गराउने काममा संलग्न तत्कालीन मालपोत प्रमुख मोहन स्नेही रसाईली र नायब सुब्बा अग्नी बहादुर शाहीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियारले आइतबार उनीविरुद्ध २४ करोड ६ लाख रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरी घिमिरेका अनुसार कैलालीको साविक नारायणपुर गाविस ८ अन्तर्गतको कित्ता नम्बर ९०८ को १५ बिगाह जग्गा फिल्डबुकमा जंगल भनी कायम थियो । तर उक्त जग्गा २०६८ सालमा कित्ताकाट गरी विभिन्न व्यक्तिहरुको नाममा दर्ता कायम गरिएको थियो । त्यस कार्यका लागि विभिन्न भूमाफिया र सरकारी कर्मचारी समेतको मिलेमतो पाइएको थियो ।

उक्त कार्यमा मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नायब सुब्बा अग्नी बहादुर शाहीको संलग्नता पाइएको हो । उनीहरुले साविकको नारायणपुर गाविस वडा नं। ८ को फिल्डबुकमा २०२१ सालमै जङ्गल भनी उल्लेख भएको कित्ता नम्बर १३९ बाट कित्ताकाट गरी विभिन्न् व्यक्तिहरुको नाममा दर्ता गराइदिएका थिए ।

उनीहरुले हकभोगमै नरहेको उक्त जग्गाहरु हकभोगमा रहेको भनी व्यक्तिविशेषको नाममा दर्ता गराउन टिप्पणी उठाई दर्ता गराएका थिए । सरकारी स्वामित्वका जग्गाहरु विन्द्रा रावल, कमल बहादुर रावल, सुशील बहादुर रावल र विमल बहादुर रावलको संयुक्त नाममा स्रेस्ता कायम गरी हक हस्तान्तरण गरेको र निर्णयका कागजातसमेत कार्यालयको अभिलेखबाट नष्ट गरेका थिए ।

आर्थिक वर्ष २०८०/०८१ को मूल्याङ्कन अनुसार टीकापुरको उक्त जग्गाको हालको मूल्य २४ करोड ६ लाख ६९ हजार रहेको उल्लेख छ । सरकारी जग्ग व्यक्तिविशेषको नाममा दर्ता कायम गरी सरकारी सम्पत्तिको हानि नोक्सानी पु-याएको भन्दै मालपोत प्रमुख स्नेही र नायब सुब्बा शाहीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?