भक्तपुरमा बस र ट्रिपर एकआपसमा ठोकियो, एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरको सूर्यविनायकमा बस र ट्रिपर एकआपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 

बुधवार राति भक्तपुरबाट बनेपातर्फ जाँदै गरेको बा३ख १७८४ नम्बरको बस र बनेपाबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख४८१५ नम्बरको ट्रिपर सूर्यविनायक नगरपालिका १० भातेढिकुरमा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएका सिन्धुपाल्चोक चौतारा साँगाचोक नपा–३ बतासे बस्ने ३४ वर्षीय बस मालिक रमेश भण्डारीको मध्यपुर अस्पतालमा उपचारको क्रममा आज (बिहीवार) बिहान मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जानकारी दिएको छ । भण्डारी बसका मालिक थिए । 

त्यस्तै दुर्घटनामा घाइते भएका बस चालक सिन्धुपाल्चोक चौतारा साँगाचोक–३ बतासेका २४ वर्षीय सन्तोष थापा र टिपर चालक सिन्धुपाल्चोक चौताराका २८ वर्षीय देवकुमार श्रेष्ठको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?