छुट्टाछुट्टै दुर्घटना दुईको मृत्यु, एक घाइते

मुग्लिन ।  चितवनमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । 

भरतपुरमा बुधवार साँझ ७ बजे ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ गणेस्थानचोकमा आँपटारीबाट केन्द्रीय बसपार्कतर्फ आउँदै गरेको बा४ख ८१७६ नंको ट्रकले सडक पार गर्दै गरेको बा४६प ७८३० नंको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालक इच्छाकामना गाँउपालिका–५ बस्ने ३७ वर्षीय रेशमबहादुर गुरुङको उपचारका लागि भरतपुर अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
 
दुर्घटनामा साइकलयात्री भरतपुर–११ गणेस्थानका श्यामकुमार श्रेष्ठ घाइते भएका छन् । ट्रकले ठक्कर दिएपछि मोटरसाइकल साइकलमा ठोक्किन पुगेको थियो । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने ट्रक र ट्रकका चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।
 
यसैबीच पृथ्वी राजमार्गअन्तर्गत चितवनकै इच्छाकामना–४ लेवाटारमा हाइसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार साँझ ५ बजे पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा२ख २२४८ नंको हाइस र विपरीत दिशाबाट आइरहेको ग७प ९३९८ नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गोरखाका ३७ वर्षीय शम्भु खड्काको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रहरीका अनुसार हाइससँग ठोक्किएपछि मोटरसाइकल चालक उछिट्टिएर पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा२ख १९१२ नंको अर्को हाइसमा ठोक्किन पुगेका थिए । दुईवटै हाइस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?