अन्नपूर्ण र माछापुच्छ्रे हिमालको काखमा ‘घान्द्रुक’ (फोटो फिचर)

काठमाडौं । घान्द्रुक, विशिष्ट संस्कार, शैली तथा प्रकृतिको अनुपम छटाले भरिपूर्ण गाउँ । 

गण्डकी प्रदेश जिल्लामा अवस्थित यो गाउँको पहिचान देशमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तर मै प्रख्यात छ । घान्द्रुक नेपालको मध्यतिरको उत्तरी भेगमा गण्डकी अञ्चलको कास्की जिल्लामा अवस्थित छ ।

पर्यटकीय क्षेत्रको रुपमा प्रख्यात यो गाउँमा दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्छन् । अन्नपूर्ण, माछापुच्छ्रे हिमालको नजिकै रहेको घान्द्रुक गाउँ प्राकृतिक रुपले सौन्दर्यपूर्ण छ । 

पोखराबाट उत्तर ह्याङजा, फेदी, नौडाँडा, लुम्ले हुँदै नयाँपुलबाट घान्द्रुकको यात्रा शुरु गर्न सकिन्छ । पहिलेको तुलनामा अहिले घान्द्रुक जान निक्कै सजिलो छ । नयाँ सडक निर्माण भएसँगै अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई घान्द्रुकसम्मको यात्रा गर्न सहज भएको हो । 

विशेतः गुरुङ बस्तीको रूपमा लोकप्रिय घान्द्रुक लगभग दुई हजार मिटर उचाइमा अवस्थित छ । अन्नपूर्ण रेन्जमा रहेको यो गाउँबाट माछापुच्छ्रे, हिमाललगायतका अन्य हिमचुलीको दृश्यावलोकन गर्न सकिन्छ । बिहानी पख सुर्यको किरणसँगै अन्नपूर्ण, माछापुच्छ्रे लगायतको हिमचुचुरोबाट हिउँको सुनौलो दृश्यले स्वर्गको चमकको अनुभव गराउँछ । 

चिसो–चिसो बतास, कलकलाउँदो झरनाको आवाज, ढुङ्गे बाटो, हरियो ढकमन्न डाडाँकाडाँ, भद्रबस्ती र घोडा–खच्चडको लामले गाउँको रौनकता थपेको छ । 

सयौं वर्ष पुरानो गुरुङ शैलीमा निर्मित घरहरु, वास्तुकला, संस्कार र संस्कृति, रितिरिवाज, पहिरन, लालीगुराँस फुल, खच्चडबाट माल ढुवानीको दृष्य र मनोरम पहाडी तथा हिमाली परिदृश्यले घान्द्रुकलाई थप रौनकता थपेको छ ।

धेरै पारम्परिक घरहरु होमस्टेको रुपमा पर्यटकलाई स्वागत गर्न आतुर हुन्छ भने सुबिधाको लागि लज र होटलहरू पनि उपलब्ध छ । करिब ५ हजार जनसंख्याको घान्द्रुक गाउँको सौन्दर्य र परम्परलाई एउटा संग्राहलयमार्फत संरक्षित गरेको छ ।

यहाँ गुरुङ जातिले लगाउने पोशाकदेखि गहना, हातहतियार र अन्य सामग्रीहरू संग्रहित गरेर राखिएको छ । तर, पछिल्लो समयमा पिल्लरका घर बन्ने क्रम जारी छ । गाउलेहरु पिल्लरको घर ठडिन थालेपछि घान्दु्रकको अस्तित्व नै मेटिने डरमा छन् ।

घान्द्रुकको ढुङ्गेनी घर, जुन घरहरु हेर्नका लागि मात्रै दैनिक मानिसहरु यहाँ आउने गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?