अपहरणको आरोपमा चार जना पक्राउ

भक्तपुर ।  महानगरीय प्रहरी बृत्त थिमिले अपहरणमा परेका एक युवाको सकुशल उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा  चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–७ बागेश्वरीका २३ वर्षीय विकास लामा, काठमाडौँ महानगरपालिका–६ बौद्ध, चावहिलका २९ वर्षीय रमेश लामा, काठमाडौँ महानगरपालिका–१ कपन चुनिखेलका ३२ वर्षीय धनलाल श्रेष्ठ र झापा बुधबारे–३ घर भई हाल काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ३३ वर्षीय विकास थापा रहेको प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए ।

उनीहरुले चाँगुनारायण नगरपालिका–९ ताथली हलाल गाउँमा डेरा गरी बस्ने झापा दमक नगरपालिका–९ दुधेका २५ वर्षीय सन्तोष तुम्बापुलाई अपहरण गरेको आरोप छ ।

तुम्बापुलाई बा९च १८०१ नं को कारमा जबर्जस्ती राखेर लगेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भक्तपुर नगरपालिका–९ ब्रम्हायणीबाट नियन्त्रणमा लिई सन्तोषको उद्धार गरिएको शर्माले जानकारी दिए ।

अपहरणमा प्रयोग भएको गाडीसहित पक्राउ परेका चारै जनालाई प्रहरी बृत्त जगातीमा राखेर अनुसन्धान थालेको उनले बताए । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?