सोमवारदेखि मात्र मौसममा क्रमिक सुधार आउने

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम भोली ‘सोमवार’देखि क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । 

उक्त वायुको प्रभावले आज ‘आइतवार’ देशभरि नै आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी तथा मध्य भू–भागका एक दुई स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । उनका अनुसार सोमवार पश्चिमी क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने छ ।

मध्य र पूर्वी क्षेत्रको मौसम भने एक/दुई दिन प्रभावित नै हुने मौसमविद् पौडेलले बताए । काठमाडौं उपत्यकामा सोमवारबाट मौसम सुधार हुँदै जाने बताइएको छ । 

पश्चिमी क्षेत्रमा पश्चिमी वायु, पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय रेखा, बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको समिश्रणको प्रभावले देशैभरको मौसम प्रभावित भएको महाशाखाले जनाएको छ । 

राति देशभरी नै आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू-भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । भोलि देशका पूर्वी भू-भागमा आंसिकदेखि पूर्ण बदली रही पश्चिमी पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । 

मंगलवार देशको पूर्वी र मध्य भू–भागमा आंसिकदेखि सामान्य बदली रही पूर्वी तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम १३ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १७ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?